१६ चैत्र २०८०, शुक्रबार

मंगलबार नेपाल बन्द ‘काठमाडाैंकाे बस भाडा साढे चार सय हाेइन, आठ सय पर्छ’

gadi.jpg1637025257

काठमाडौँमा आफन्तको निधन भएपछि रत्ननगर टाँडीका सरोज अधिकारीलाई सोमबार नै काठमाडौँ जानुपर्ने भयो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेकाले काठमाडौँ जाने गाडी एकदमै कम भेटिएका थिए । नारायणगढ पुलचोक पुगेपछि धेरै गाडी भेटिने आशमा उनी सोमबार साँझ बुटवल जाने गाडी चढेर पुलचोक ओर्लिए ।

पुलचोकमा पनि उनले सोचेँ जसरी काठमाडौँ जाने गाडी आएका थिएनन् । राति ८ बजेसम्म गाडी कुर्दा पनि गाडी नआएपछि उनी टोलाएर बसेका थिए । त्यत्तिकैमा एक जना व्यक्ति आएर काठमाडौँ जाने ट्याक्सी तयार रहेको बताए । उनी ट्याक्सी चढे । ट्याक्सीमा अरु यात्रु पनि थिए । ट्याक्सी चालकले एक हजार भाडा लाग्ने बताए ।

बीच बाटोमा पुगेर अलपत्र परेका उनले एक हजार रुपैयाँ भाडा तिर्ने सहमति भयो । तर, ट्याक्सी चालकले मादक पदार्थ सेवन गरेका रहेछन् । अल्लि पर पुगेपछि ट्याक्सीबाट ओर्लेर उनी पुनः पुलचोकमै पुगे ।

‘आफन्त बितेर जानै पर्ने भएर यहाँसम्म आइयो । मंगलबार बन्द रहेछ । गाडी पाउनै सकिएन,’ उनले गुनासो गरे, ‘जति भाडा मागे पनि तिर्छु भनेर चढेको थिए । ड्राइभरले त रक्सी पो धोकेको रैछ । उ..पर पुगेर झरेर आएँ ।’

करिब आधा घण्टा कुरेपछि ग१ख ९११२ नम्बरको बस आइपुग्यो । काठमाडौँ जानका लागि पुलचोक पुगेर गाडी कुर्नेको भिड थियो । गाडीले ‘काठमाडौँ..काठमाडौँ’ जाने भनेपछि यात्रु गाडीको पछि दगुरे । गाडीका साहुले आठ सय रुपैयाँ भाडा लाग्ने बताए ।

मंगलबार काठमाडौँ नपुगि नहुने सरोज जस्ता केहि यात्रु आठ सय रुपैयाँ भाडा भने पनि गाडीको सिटमा गएर बसे । नारायणगढदेखि काठमाडौँको वास्तविक बस भाडा साढे चार सय रुपैयाँ हो ।

भाडा महँगो मानेका केही यात्रुले भने ‘किन यति धेरै महंगो ?’ भनेर गाडी सहचालकलाई प्रश्न गरे ।

वैदेशिक रोजगारीमा जानु पूर्वतालिम लिन काठमाडौँ जान लागेका भरतपुर महानगरपालिका–९ का दिनेश रेग्मीले मंगलबार बन्द भन्दैमा बढी भाडा असुल्न पाइन्छ ? भन्दै प्रश्न गरे । सहचालकले भने काठमाडौँको वास्तविक भाडा पाँच सय भए पनि बाध्यतामा पर्ने यात्रु जसरी पनि आठ सय रुपैयाँ तिरेर जाने खुलाए ।

‘भोलि बन्द छ । जानै पर्छ । अफिसतिर जानुपर्ने मान्छे झन् जानैपर्छ । नेपाल बन्द भए पनि अफिस त पुग्नै पर्‍याे,’ उनले भने, ‘पाँच सयमा त हुँदैन । भोलि बन्द छ । आठ सय नै हो भाडा ।’ पाँच सय रुपैयाँमा मिलाउन आग्रह गर्दा पनि गाडीवालाले भाडा नमिलाएको रेग्मीले गुनासो गरे ।

‘गाडी नै नपाइने । पाए पनि अचाक्ली महँगो । त्यहि भएर अर्काे दिन जानुपर्ला भनेर फर्किए,’ रेग्मीले भने । त्यसअघि उनले काठमाडौँ जाने माइक्रो फेला पारेका थिए । मुढामा बसेर गएपनि पाँच सय रुपैयाँ भाडा लाग्ने भनेपछि आफु नचढेको उनले बताए ।

गाडीले भाडा महँगो भनेपछि उनले प्रहरीलाई पनि जानकारी गराए । पुलचोकमा खटिएका एक जना प्रहरी गाडीभित्र पसेर भाडा महंगोको विषयका गुनासो भए बताउन आग्रह गरे । बाध्यात्मक अवस्थाका यात्रु चुपचाप बसे ।

विप्लव माओवादीको बन्दका कारण धेरै यात्रुले सास्ती पाएका छन् । यहि बन्द यातायात व्यवसायीलाई भने मौकामा चाैका भएको छ । चाडपर्व होस् वा अन्य कुनै आपत परेको बेला होस् । यातायात व्यवसायीले यात्रुलाई लुट्नुसम्म लुटेका हुन्छन् । न्युज कारखाना