११ बैशाख २०८१, मंगलवार

साइकल खरिदमा अनियमितता देखियो: अख्तियार

CM Lalbabu Raut Cycle Beti Pathau Abhiyan

प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल खरिद भ्रष्टाचार देखिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा साइकल खरिदमा भ्रष्टाचार भएको देखिएको यथेष्ट प्रमाणहरू फेला परेको जानकारी दिनुभयो ।

जनकपुरमा सञ्चारकर्मीसँग आज कुरा गर्दै साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको बताउँदै दोस्रो चरणको अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो । त्यसमा पनि भ्रष्टाचार देखियो भने साइकल खरिदमा संलग्न पदाधिकारीमाथि भ्रष्टाचार विरुद्ध विशेष अदालतमा मुद्दा दायर हुने जानकारी उहाँले दिनुभयो ।

krishna sapkota

गत असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास तथा केन्द्रका संयुक्त टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको थियो ।

अख्तियारको उक्त कदमको प्रदेश २ सरकारले चर्को आलोचना गरेको थियो भने प्रमुख सत्तारुढ जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको बचाउमा अख्तियार विरुद्ध विरोध प्रदर्शन सहितको आन्दोलन पनि गरेको थियो ।

प्रदेश नंं २ को सरकारले प्रदेश भरिका सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गर्दै आएको छ ।