१५ बैशाख २०८१, शनिबार

भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढङ्गले कलम चलाउनुस् : मन्त्री शर्मा

20211113 105853 1024x498 1

अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढङ्गले कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गर्नुभएको हो । ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस् ।’ उहाँले भन्नुभयो ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरूको काँधमा छ ।’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो ।

सरकारले पहिलो पटक गरिबहरूलाई सम्झेर अति विपन्न परिवारहरूलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरूको व्यवस्थापन, दलित आवासलगायतका लोकहितकारी निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरूमा आम सञ्चार प्रतिष्ठान गठन सम्बन्धी विधेयकहरु पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गर्नको लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो । उहाँले अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबिच नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्ताहरूसँगको भेटघाटमा पार्टीका सङ्गठन विभाग प्रमुख समेत रहनुभएका नेता शर्माले सरकारले जनताको पक्षमा गरेका राम्रा कामहरूको प्रचार प्रसार गरी त्यसलाई सङ्गठन विस्तारमा लगाउन निर्देशन दिनुभयो ।

सरकारले गरिबको पक्षमा, बिरामीको पक्षमा, दलितको पक्षमा, महिलाको पक्षमा, शहीद परिवारको पक्षमा, घाइते अपाङ्गता भएकाहरूको पक्षमा अभूतपूर्व काम गरेको भन्दै उहाँले ती कामहरूलाई पार्टी सङ्गठन निर्माणमा उपयोग गर्न आग्रह गर्नुभयो ।