१६ चैत्र २०८०, शुक्रबार

जिका भाइरसकाे जाेखिम राजधानीमा पनि बढ्याे, सजगता जरूरी

zika virus

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, जिका भाइरस जस्ता रोगहरुका कारण स्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ । जाडोयाम शुरु भइसक्दा पनि लामखुट्टेको कमी हुन नसक्दा यसले थप समस्या बढाएको छ ।

जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेका अनुसार वर्खायाम सकिएलगत्तै र जाडोयाम शुरु हुने पोष्ट मनसुनी समयमा लामखुट्टेको वृद्धि हुनु स्वभाविक नै हो । ‘दिउँसो टोक्ने लामखुट्टले जिका भाइरस सार्छ, यसको सार्ने माध्यम अन्यकोभन्दा खतरा हुन्छ । यौनसम्पर्क र अंग प्रत्यारोपण गर्दा पनि सङ्क्रमित मानिसले अरुमा सार्न सक्छ,’ काफ्ले बताउनुहुन्छ ।

जिका भाइरस सार्ने लामखुट्टेले थोरै ओसिलो पानीमा मात्रै पनि फूल पार्न सक्छ । काठमाडौं जस्तो अव्यवस्थित शहरमा गमला, बाल्टी जस्ता स–साना भाडामा राखिएको सफा पानीमा यो भाइरस सार्ने लामखुट्टे बस्ने गर्दछ । यसकारण यसलाई शहरिया लामखुट्टे पनि भनिन्छ । विशेषगरी, उष्ण प्रदेशीय वायुमण्ल भएको देश र भू–भागमा जिका भाइरसको सङ्क्रमण हुने उहाँ बताउनुहुन्छ ।

सामान्यतया भाइरल रोगहरुको लक्षण टाउको दुख्ने, रुघा लाग्ने, आँखा पाल्ने, नाकबाट पानी आउने जस्ता एउटै लक्षण भएकोले जिका भाइरसको लक्षण छुट्याउन समस्या पर्ने गरेको उहाँले बताउनुभयो । डेंगु सार्ने लामखुट्टले नै जिका भाइरस पनि सार्ने हुँदा यस विषयमा थप सचेतना फैलाउनुपर्ने आवश्यकता छ ।

यससँगै काठमाडौं महानगरपालिकाको स्थानीय तहबाट नै लामखुट्टेको वास स्थान पहिचान गरी लार्भा नष्ट गर्न अत्यावश्यक रहेको र यसका लागि पहल पनि गरिएको उहाँले बताउनुभयो । जिका भाइरस परीक्षण एवं उपचारका लागि किट रहेपनि यसका लागि संघीय सरकारले थप निर्णय गरेर अघि बढ्नुपर्ने र यसका साथै जिका भाइरसबाट हुने क्षति कम गर्न शैक्षिक चेतना पनि अभिवृद्धि गर्नुपर्ने उहाँको धारणा छ ।