४ बैशाख २०८१, मंगलवार

जिका भाइरसको उच्च जोखिममा चितवन, भारतीय सिमा क्षेत्रसम्म फैलिएकाले सतर्क रहन अनुरोध

zika virus

चितवनमा जिका भाइरसको जोखिम उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तराईका क्षेत्रमा लामखुट्टे बढी भएको कारणले र भारतसँग सिमा जोडिएकोेले पनि यस क्षेत्रमा जिका भाइरसको जोखिम उच्च रहेको हो ।

स्वास्थ्य कार्यलय चितवनकी जनस्वास्थय अधिकृत गीताञ्जली ढकालको अनुसार जिका भाइरस दिउँसो सक्रिय हुने एडिस लामखुट्टेको टोकाइबाट सर्ने एकप्रकारको सरुवा रोग हो ।

हालसम्म चितवनमा जिका भाइरसको कुनै संक्रमित नभेटिए पनि भारतसँग खुला सिमा भएकोले यस क्षेत्रमा जोखिम उच्च रहेको ढकालले बताइन् । त्यस्तै, उनका अनुसार उक्त भाइरस विशेषगरी दिउँसोको समयमा बारीमा काम गर्दा, घाम ताप्दा, असुरक्षित यौन सम्पर्क राख्दा, संक्रमित व्यक्तिको रगत लिदा, अंग प्रत्यारोपण गर्दा र घर बाहिरका अन्य काम गर्दा सर्ने गर्छ । त्यस्तै गर्भवती भएको समयमा यदि आमा संक्रमित भए उक्त भाइरस बच्चामा पनि सर्ने गर्छ ।

स्वास्थ्य कार्यालय चितवनले भाइरस नियन्त्रण गर्न विभिन्न क्षेत्रमा रहेको खाल्टाखुल्टी पुर्ने तथा झाँडी पन्छाउने जस्ता कार्यहरु सञ्चालन गर्दै आएको ढकालले नारायणी अनलाइनलाई बताइन् । उक्त भाइरसको जोखिम सबै समूहका व्यक्तिहरुमा रहेको उनले बताइन् ।

जिका भाइरसका लक्षणहरु

जिका भाइरसका धेरै बिरामीहरुमा कुनै पनि लक्षणहरु देखा पर्दैन । त्यस्तैकेही व्यक्तिमा भने ज्वरो आउने , आँखा रातो हुने वा सुन्निने, अत्याधिक जोर्नीदुख्ने (विशेष गरी हात खुट्टाको) र शरीरमा बिभिराहरु देखिने गर्छ ।

जिका भाइरस रोकथाम गर्ने उपायहरु

जिका भाइरस नियान्त्रण गर्न घर नजिकैको खाल्टोमा पानी जम्न नदिने, सुत्ने बेला झुलको प्रयोग गर्ने, सुरक्षित यौन सम्पर्क राख्ने, लामो बाहुला भएको कपडा लगाउने, इन्सेक्ट रेपेलेन्ट्सको प्रयोग गर्ने र भाइरस फैलिएको क्षेत्रमा नजाने लगायत हुन् ।
सन् २०१५ मा जीका भाइरस ब्राजिलमा फैलिँदा संक्रमित आमाबाट जन्मिएका नवजात शिशुहरूमा मस्तिष्क÷स्नायुसँग सम्बन्धित मुख्यतय ’माइक्रोकेफाली’ जस्तो स्वास्थ्य समस्या व्यापक देखिएपछि चर्चामा आएको थियो । यो भाइरस र नवजात शिशुमा देखिएका स्नायुसँग सम्बन्धित समस्याहरूको सम्बन्ध रहेको प्रमाणहरू देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा जीका भाइरसलाई ’पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न’ घोषणा गरेको थियो ।

त्यसयता भारतको गुजरातमा सन् २०१७ मा तीन जनामा जिका भाइरस संक्रमण देखिएको थियो। सन् २०१८ सम्म आइपुग्दा मध्यप्रदेश र राजस्थानसम्म फैलिएको थियो।

यही वर्षको जुलाइमा जीका फेरि भारतमा देखिएको थियो। अक्टोबरको अन्तसम्म आइपुग्दा नेपालको सिमानासँग जोडिएको भारतीय राज्य उत्तरप्रदेशसम्म आइपुगेको छ । संक्रमण भएको तीनदेखि १४ दिनसम्ममा जीका भाइरसका लक्षण देखा पर्छन्।

नेपालसँग सीमा जोडिएका भारतको उत्तर प्रदेश राज्य अहिले जीका भाइरसको ’हटस्पट’ बन्दै गर्दा र काठमाडौं लगायत विभिन्न ठाउँमा जीका फैलाउने लामखुट्टे प्रशस्त भएकाले ढिलो चाँडो जीकाको प्रवेश नेपालमा नहोला भन्न सकिँदैन । तसर्थ जिका सम्बन्धी परीक्षण सुरू गरी जनचेतनामूलक कार्यक्रमलाई पनि अगाडि बढाउनुपर्ने स्वास्थ्य अधिकारीहरु बताउँछन् ।