१६ चैत्र २०८०, शुक्रबार

भारतले अनुमति नदिए लिम्पियाधुरामा अनुमानकै भरमा जनगणना गर्ने तयारी

भोलिदेखि शुरु हुने १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ ।

केन्द्रीय तथ्यांक विभागले आज पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो । भोलि बिहान साढे ९ बजे राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिनेछ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने छन् ।

उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए ।

जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिएका छन् । विभागले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने पनि बताएको छ ।

जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गर्नुभयो । एक जना गणकले औसतमा १५ दिनमा १ सय ७५ परिवारको गणना गर्नुपर्ने छ ।

जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने छ । अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।