१२ बैशाख २०८१, बुधबार

थप गिजोल्दै दलहरु एमसीसीलाई, माओवादीभित्र किचलो

oli prachanda deuba

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न पत्र पठाएको विषयले राजनीतिक वृत्त तरंगित बनेको छ । नेपाली कांग्रेस शुरुदेखि नै एमसीसी पास गर्ने पक्षमा रहे पनि सत्तागठबन्धनकै अर्को घटक माओवादी केन्द्रमा विवाद छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई पत्र पठाएको बताए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै कार्यान्वयन गर्ने प्रतिबद्धतासहितको पत्र नपठाएको बताउनुभएको छ । तर, पत्र सार्वजनिक गर्न दुबै पक्ष तयार छैनन् ।

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका अभिव्यक्ति हुन्। प्रधानमन्त्री देउवाले एमसीसी कार्यान्वयन हुन्छ त्यसका लागि पत्र पठाइएको बताइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रष्ट जवाफ छैन । पत्र पठाएको स्वीकार गरेपनि प्रचण्डले राष्ट्रिय सहमति नजुटाइ पारित गर्न सकिँदैन भन्ने आशयमा राखिएको दाबी गर्नुभएको छ ।

यसरी फरक फरक अभिव्यक्तिले सत्ता गठबन्धनभित्र तरंग देखिएको छ । तर, सत्ता गठबन्धनले छलफल गरेर वास्तविकता सार्वजनिक नगर्नुले शंकालाई बल पुर्याएको छ । पत्र लेखेको दुबै नेताले भनेपनि पत्रमा के थियो भन्ने फरक–फरक अभिव्यक्तिले शंका बढाएकै छ ।

माओवादीको स्थायी समितीको बैठकमा पनि एमसीसीको पत्रबारे नेताहरुले चासो राख्दै संशोधन विना पारित गर्न नहुने निर्णय भएको छ । प्रचण्डले संसदबाट पास नहुने भए आपत्ती नभएको बताएपनि स्थायी समिति बैंठकले एससीसीका केही बुँदा आपत्ती जनक भएको निष्कर्ष निकालेको छ ।

एमसीसीको विषयमा सहपति गर्ने पत्र प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको मात्र जिम्मा हो ? प्रश्न उब्जिएको छ । राजनीतिक दलका नेताहरुले गोप्य रुपमा एमसीसीलाई पत्र किन लेखियो ? विभिन्न आशंकाहरु पैदा भएका छन् । र मुख्य विपक्षी दल नेकपा एमालेले त देउवा र प्रचण्डमाथि नै प्रश्न उठाएको छ ।

एमसीसी सम्झौता संशोधन गर्ने निर्णय गरे पनि पत्र सार्वजनिक गर्नेबारे माओवादी केन्द्र भने मौन छ ।

पार्टीमा समेत छलफल नगरी पठाइएको पत्रबारे माओवादी केन्द्रभित्र तीव्र असन्तुष्टि भने छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमसीसी अहिलेकै अवस्थामा पारित नहुने सामाजिक सञ्जालमै उल्लेख गर्नुभएको छ ।

यसले माओवादीमा असन्तुष्टि रहेको पुष्टि हुन्छ । देउवा–प्रचण्डको गोप्य सहमतिले भित्रको अन्तरकथा सार्वजनिक नहुँदासम्म एमसीसीभित्रको खिचडी के पाकिरहेको छ भनेर भ्रम उत्पन्न हुँदैजानेछ ।