
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामी मंसिर हुने पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै रावलले एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उहाँको भनाइ छ ।
अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा उहाँको जोड छ ।
उहाँले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताउनुभएको छ ।
नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरलगायत सहभागी हुनुभएको थियो ।