१६ चैत्र २०८०, शुक्रबार

वैकल्पिक सुरुङको लेदो हटाई मुख्य सुरुङमा पानी खसाल्ने तयारी

melamchi gate
फाइल फोटो

गत असार एक गतेको बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ । मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने काम अघि बडाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो ।

हाल त्यस क्षेत्रमा बाढी तथा पहिरो भत्काएको सडक अस्थायी रुपमा मर्मत गरी मुहान क्षेत्रसम्म गाडी पुग्न सक्ने भएको छ । यस अघि अस्थायी बाँध र दुईसय मिटरको वैकल्पिक सुरुङबाट मुख्य सुरुङमा पानी लगिएको थियो । बाढीले वैकल्पिक सुरुङभित्र लेदो थुपारेको छ । यता मुख्य सुरुङको करीब पाँच किलोमिटर खण्डमा जम्मा भएको पानी निकालेपछि वैकल्पिक सुरुङबाट खोलालाई मुख्य सुरुङमा खसालेर पानी काठमाडौं ल्याउन सकिने समितिले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा चैतसम्ममा काठमाडौंमा मेलम्चीको पानी झारेर वितरण गरी सक्ने भन्ने उल्लेख गरेको थियो । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा कार्ययोजना पेश गर्ने र त्यस पछि काम शुरु गर्ने तयारी गरेको पन्तले जानकारी दिनुभयो । सुरुङ सफा गर्ने, बाटो बनाउने, पहिरो नियन्त्रण गर्ने र मेलम्ची नदीलाई च्यानलाइज गर्ने गरी कार्ययोजना तयारी गरेको जनाएको छ ।

यता खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी सहितको टोलीले सोमबार मेलम्ची खानेपानी मुहानको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा बाढीले पुरिएका मेलम्ची खानेपानीको सुरुङहरू सफा गरी छिटोभन्दा छिटो काठमाडौँमा पानी ल्याउन मन्त्री चौधरीले निर्देशन दिनुभएको छ । समितिले भने वैकल्पिक र मुख्य सुरुङ जाने सुरुङ भित्र छिरेको लेदोसहितका अवशेष हटाई अस्थायी रुपमा भए पनि पानी ल्याउने तयारी थालेको जनाएको छ ।

काठमाडौं उपत्यकाबासीको जीवनसँग जोडिएको मेलाम्ची खानेपानी आयोजनामा वर्सेनि हुने गरेको विपत्बाट बच्नका लागि पुनः भौगर्भिक अध्यन गर्नुपर्ने भुगर्भविद् डा. रञ्जनकुमार दाहालले सुझाव दिनुभयो । तीन दशक अघि गरिएको भौगर्भिक अध्ययन पर्याप्त नहुदाँ आयोजनाले क्षति वेहुर्नु परेको भन्दै दीर्घकालीन समधानका लागि अध्ययन गर्नु जरुरी भएको उहाँको सुझाव छ ।

गत असार १ गते गएको बाढीपहिरोले क्षति पु¥याएपछि मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित बनेको थियो । यस अघि २०७८ चैत्र सम्ममा १७ करोड लिटर पानी काठमाडौं ल्याइसकिने गरी काम अघि बडाएको र पुनः त्यो लक्ष्य पुरा गर्न फास्ट ट्रयाक अपनाउने तयारी समितिले गरेको छ । बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षतिहुँदा एक अर्व ८८ करोड रुपियाँको नोक्सान भएको समितिको ठहर छ ।

हालसम्म करिव ३५ अर्व लगानी भई सकेको छ । २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा मेलम्चीको पानीलाई धाराबाट खसालेर उद्घाटन गर्नुभएको थियो । २०५५ सालदेखि मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर काम भएपनि काठमाडौं पानी आइपुग्न २२ वर्ष लागेको थियो । समितिले २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी ल्याएको थियो ।