१३ बैशाख २०८१, बिहीबार

भारत टी–२० विश्वकपबाट बाहिरियो, सेमिफाइनल समीकरण पूरा

indiancricket1635989294

भारत टी–२० विश्वकपबाट बाहिरिएको छ ।

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह २ अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। जारी संस्करणमा उपाधिकै दाबेदार मानिएका भारत, वेस्ट इन्डिज जस्ता टोली समूह चरणबाटै बाहिरिएका छन्। 

आइतवार न्युजिल्याण्डले टी–२० विश्वकपको सुपर–१२ को खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेसँगै भारत समूह चरणबाटै बाहिरिएको थियो । न्युजिल्याण्ड पराजित भएको अवस्थामा मात्र भारतको सेमिफाइनलमा पुग्ने सम्भावना बाँकी रहन्थ्यो । अब अन्तिम खेल अघि नै भारत घर फर्कने पक्का भएको छ ।

टस जितेर पहिलो ब्याटिङ गर्दै अफगानिस्तानले ८ विकेटको क्षतिमा १२४ रन बनाएको थियो । अफगानिस्तानका लागि नजीबुल्लाह जारदानले सर्वाधिक ७३ रन बनाए । त्यस्तै गुलबदिन नइब र कप्तान मोहम्मद नबीले क्रमशः १५ र १४ रन बनाए । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले १७ रन खर्चेर ३ विकेट लिए भने टीम साउथीले २ विकेट लिए ।

१ सय २५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । न्युजिल्याण्डका लागि कप्तान केन विलियमसनले सर्वाधिक ४० रन बनाए । त्यस्तै डेभन कनवेले ३६ रन बनाए । योसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ । न्युजिल्याण्डसँगै पाकिस्तान, इंग्ल्याण्ड र अस्ट्रेलियाले अब सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।