१४ बैशाख २०८१, शुक्रबार

सुपरस्टार विजय सेतुपतिमाथि आक्रमण

Vijay Sethupathi

दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय सेतुपति र उनको टिममाथि बेङ्लोर एयरपोर्टमा एक व्यक्तिले आक्रमण गरेका छन् । यद्यपि यो घटनाबाट कोही घाइते भएका छैनन् । प्रहरीको कडा सुरक्षाबीच अभिनेतालाई गरिएको हमलाले सबै चकित भएका छन् ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तमिले अभिनेताका फ्यानले आफ्नो सुपरस्टारको सुरक्षा मामलालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

समाचारअनुसार यो घटना बुधबार भएको हो । विजय कडा सुरक्षाबीच एयरपोर्टमा थिए । त्यहीबेला एक अज्ञात व्यक्ति पछाडिबाट दौड्दै आएर अभिनेतामाथि आक्रमणको प्रयास गरेका थिए । भिडियोमा विजय एयरपोर्टबाट बाहिर निस्कदै गर्दा एक व्यक्ति पछाडिबाट आएर उफ्रिएर आक्रमण गरेको देख्न सकिन्छ ।

प्रहरीका अनुसार ती व्यक्ति मातेका थिए र एयरपोर्टमा उपद्रो व्यवहार गरिरहेका थिए । घटना पश्चात प्रहरीले तुरुन्तै ती व्यक्तिलाई पक्राउ गरेका थिए । यो घटनापछि दुवै पक्षबीच विवाद भएको थियो । राष्ट्रिय अवार्ड विजेता विजय यो घटनापछि दुःखी छन् । यद्यपि के कारणले यो घटना भयो भन्ने प्रष्ट खुल्न सकेको छैन ।

विजयका एक निजी स्टाफ एयरपोर्टमा अभिनेताका लागि बाटो खाली गरिरहेका थिए । त्यही बेला उनले गल्तीले एक व्यक्तिलाई धकेलेका थिए । जसकारण ती व्यक्तिले रिसले विजयलाई पछ्याए र मौका पाउनासाथ आक्रमण गरे ।

भिडियोमा ती व्यक्तिले विजयलाई लातले हान्दै गरेको देख्न सकिन्छ । सुरक्षाकर्मीले पक्राउ गरेपछि ती व्यक्तिले माफी मागेका थिए । विजयले ती व्यक्तिलाई कुनै पनि किसिमको कारवाही नगर्न आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार...