११ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री देउवा भोलि स्वदेश फर्कनुहुँदै

deuba

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२६ मा भाग लिएर भोलि स्वदेश फर्किनु हुँदै छ ।

स्कटल्यान्डको ग्लास्गोमा आयोजित सम्मेलनमा सहभागी भई प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डल भोलि बिहान काठमाडौँ आइपुग्नु हुने कार्यक्रम छ ।

स्कटल्यान्डमा रहँदा प्रधानमन्त्री देउवा विभिन्न बैठक तथा भेटघाटहरूमा पनि सहभागी हुनुभयो ।

प्रधानमन्त्री देउवाले आज बेलायतका प्रधानमन्त्री वोरिस जोन्सनसँग भेट गर्नुभयो । त्यसअघि बेलायतका रक्षा मन्त्री वेन वालेसले प्रधानमन्त्री देउवासँग भेट वार्ता गर्नुभएको थियो ।

भेटमा प्रधानमन्त्री देउवा र बेलायती रक्षा मन्त्री वालेसबीच गोर्खा सैनिकको समस्या लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले विश्व बैङ्कका प्रबन्ध निर्देशक मारी पाङ्गेटु, अमेरिकी सहयोग परियोजना एमसीसीका उप कार्यकारी निर्देशक एलेक्सीया लाटोर्डसँग पनि भेटवार्ता गर्नुभयो । भेटवार्ताका क्रममा उहाँहरूबिच समसामयिक विषयमा छलफल भएको थियो ।

अन्तर्राष्ट्रिय समुन्द्री सङ्गठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभयो । उहाँले समुन्द्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा कुराकानी गर्नुभएको थियो ।

राष्ट्रसङ्घीय सम्मेलन कोप–२६ अर्थात् शिखर सम्मेलनको पहिलो दिन नोभेम्बर १ मा प्रधानमन्त्री देउवाले नेपालका तर्फबाट सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

२१ जना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा गत आइतबार स्कटल्यान्ड प्रस्थान गर्नुभएको थियो ।