८ बैशाख २०८१, शनिबार

दाङ र तनहुँबाट जुवा खेलीरहेको अवस्थामा २३ जुवाडे प्रहरी नियन्त्रणमा

juwa
फाइल फोटो

जुवा खेली रहेका २३ जुवाडे प्रहरी नियन्त्रणमा परेका छन् । जुवा खेली रहेको अवस्थामा दाङबाट ८ जना र तनहुँबाट १५ जना पक्राउ परेका हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित बिष्णु आचार्यको कोही नबस्ने खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय रोहित न्यौपाने लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ९८ हजार २ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका–१ समस्तिपुरस्थित क्वीन बि रेष्टुरेन्टमा कौडा खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही गाउँपालिका–१ बस्ने ३५ वर्षीय प्रकाश खनाल लगायत १५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १३ हजार १० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकोछ ।