१५ चैत्र २०८०, बिहीबार

अनलाइन जुवाको जालो बढ्दै

online juwa

महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालकसहित ७४ जनालाई पक्राउ ग-यो । काठमाडौँ महानगरपालिका–६, बौद्धस्थित प्लटिङको रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेकामा ६६ जना पुरुष र आठ जना महिला छन् ।

दोलखाका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेस्‍टुरेन्टमा वीरेन्द्र मानन्धरले अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालन गरेको खुलेको छ । मोबाइलमा बिङ्गो एपबाट जुवाका खेल भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले उनीहरूबाट अनलाइन बिङ्गो खेल्न प्रयोग भएका मोबाइलसहित छ लाख १९ हजार २५० रुपियाँसमेत बरामद गरेको जनाएको छ ।

यही माघ ११ गते पनि काठमाडौँको ठमेलबाट अनलाइन जुवा सञ्चालन गर्ने बागलुङका राकेशकुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह पक्राउ परेका थिए ।

सोह्रखुट्टेबाट खटिएको प्रहरीले उनीहरूका साथबाट एक लाख ५५ हजार नगद र लाखौँका बैङ्क भौचर तथा चेक बरामद गरेको थियो । पक्राउ परेका क्षेत्रीले सञ्चालन गरेको होस्टेलबाट अनलाइन बेटिङ र सट्टेबाजीसमेत हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जुवा कमिसन विवादपछि प्रहरीले सो घटना पत्ता लगाएको थियो ।

यस्तै काठमाडौँको कीर्तिपुरबाट यही माघ ६ गते अनलाइन जुवा तथा ‘मिनी क्यासिनो’ नै सञ्चालन गरेको आरोपमा १२ जना पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाले पक्राउ गरेका उनीहरूले कीर्तिपुरका फरक–फरक तीन ठाउँबाट विदेशमा जुवा खेलाउने गरेका थिए । गत असार १४ गते ठमेलबाट पक्राउ परेका छ चिनियाँ नागरिकसमेत अनलाइन जुवा सञ्चालक भएको खुलेको थियो ।