४ बैशाख २०८१, मंगलवार

लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेतः डा.बाबुराम भट्टराई

Baburam Bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले न्यायायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायाधीश नियुक्तीदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गर्नुभयो । उहाँले न्यायपालिकाबाटै समस्या सिर्जना भएकोले त्यसको निरुपण पनि न्यायालय भित्र बाटै हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘पहिलो कुरा यति ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट जुन संविधान बनायौँ, त्यसक्रममा राज्यका स्थायी अंग हुन्छन्, न्यायालय, सुरक्षाअंग, तिनीहरुमा पर्याप्त रुपान्तरण र परिवर्तन सकेनौँ, त्यो कारणले न्यायाधीशको नियुक्तिदेखि लिएर सबै प्रक्रिया त्रुटिपूर्ण छन्, भागबण्डामा चल्छन्, त्यसले न्यायालयको प्रतिष्ठा पहिल्यैदेखि आघात पर्दै आएको थियो, अहिले भित्रैबाट विवाद आउनु लोकतन्त्रको शोभनीय होइन, गम्भीर अनिष्टको संकेत हो, त्यसले यसको निरुपण न्यायालय भित्रैबाट गर्नु राम्रो हुन्छ,उहाँले गर्नुभएन भने व्यवस्थापिकाले आफूले गर्ने काम गर्छ, न्यायालयमा गम्भीर रोग छ भन्ने देखियो, यसको उपचार आफैँले गर्नुपर्यो ।’

अध्यक्ष भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोशिस मात्रै भएको बताउनुभयो ।