१३ बैशाख २०८१, बिहीबार

चैत्र मसान्तभित्र कोरोना खोप लगाउने लक्ष्यमा केन्द्रित हुन प्रमकाे निर्देशन

pm deuba
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्र मसान्तसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिनुभएको हो ।

साथै, प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिनुभएको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो ।

तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो । त्यस्तै बैठकमा हाल कोरोना महामारीको अवस्था, चाडवाडको बेला सङ्क्रमणमा कस्तो र नेपाल र अन्तर्राष्ट्रिय अवस्था कस्तो छ भन्ने कुरा छलफल भएको थियो ।

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बैठकमा हालसम्म कुल जनसङ्ख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको बारे जानकारी दिएको छ ।