१४ बैशाख २०८१, शुक्रबार

पाँच वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउन विज्ञको स्वीकृति

pfizer vaccine

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकाका लागि स्वीकृत गर्ने पक्षमा अमेरिकी विज्ञले मतदान गरेका छन् ।

कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकाका लागि स्वीकृत गर्ने तयारी भएको छ । अमेरिकी सरकारको विज्ञ समूहले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथि उमेरका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ ।

फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसश (एफडिए) का विज्ञले खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् । योसँगै अब पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपले आकस्मिक प्रयोगको स्वीकृति पाउने भएको छ ।

गएको सेप्टेम्बर महिनामा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणमा फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि सुरक्षित र प्रभावकारी पाइएको उल्लेख गरेको थियो ।

अमेरिकामा यसअघि नै यो खोप १२ वर्ष र सो भन्दा माथिको उमेरका बालबालिकाले लगाइरहेका छन् ।

अब एफडिए र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले स्वीकृति प्रदान गरेपछि खोप लगाउन थालिने छ । खोपले आउने नोभेम्बर २ तारिखमा स्वीकृति पाउन सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।