६ बैशाख २०८१, बिहीबार

विवाद प्रधानन्यायाधीश र न्यायाधीशबीच: मर्कामा नागरिक

supreme court chief

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरुबीचको विवादका कारण सर्वोच्च अदालतमा आज पनि इजलास बस्न सकेन । हिजोदेखि इजलास बस्न नसक्दा हजारौं मुद्दा थन्किएका छन्, जसले गर्दा नागरिकलाई मर्का परेको छ ।

न्यायको अपेक्षा गरेर जनताको व्यक्तिगत र सार्वजनिक चासोका हजारौं मुद्दा अदालतमा थुप्रिएका छन् । आज मात्रै पनि दुई सय १६ मुद्दाको पेशी तोकिएको थियो । तर, इजलास बस्न नसक्दा ती मुद्दाहरु पनि थन्किएका छन् । यसले न्यायको आशमा बसेका नागरिकलाई निराश बनाएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गर्दा पछिल्लो दुई दिन न्याय सम्पादनका कुनै कामकारवाही अघि बढ्न सकेको छैन ।

न्यायाधीशहरुको यो कदमलाई कानून व्यवसायीले पनि साथ दिएका छन । इजलास अवरुद्ध हुने क्रम कति समय लम्बिन्छ यसै भन्न सक्ने अवस्था छैन ।

अहिले सर्वोच्च अदालतमा छिनोफानो हुनुपर्ने २५ हजारभन्दा बढी मुद्दा छन् । र अदालतमा अहिले पनि मुद्दा दर्ता भइरहेका छन् । यस्तो अवस्थामा मुद्दाको संख्या बढ्ने नै छ । विवाद एक ठाउँमा होला । तर, न्यायालयभित्रको विवादले नागरिकको न्यायको हक कुण्ठित हुनु दुर्भाग्यो हो ।