१५ चैत्र २०८०, बिहीबार

२० घर भत्किए हुम्लामा, सय घर उच्च जोखिममा

Humla

हुम्ला । आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् । एक सय घर उच्च जोखिममा परेका छन् ।

सर्केगाड गाउँपालिका–१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएको र १० घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिको अनुमान गरिएको उनले बताए ।

सर्केगाड–२ रिप गाउँमा एक घर भत्किएको छ । सर्केगाड–४ को साँयामा ११ घरमा क्षति पुगेको छ ।

अदानचुली गाउँपालिका–१ को कल्खेमा पहिरोले तीन घरमा क्षति गरेको छ ।दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

अदानचुली गाउँपालिका–४ मा लौठीका ३० घर पहिरोको उच्च जोखिममा छन् । लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेको वडाध्यक्ष दत विष्टले जानकारी दिए ।