१५ चैत्र २०८०, बिहीबार

देउवा सरकारका १०० दिन : के भए, के हुन सकेन ?

deuba 2 1 scaled 822x548 1

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको बुधबार सय दिन पुगेको छ ।

देउवा सर्वोच्च अदालतको आदेशमा पाँचौँपटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकार गठन भएको लामो समयसम्म मन्त्रिपरिषदलाई पूर्णत दिन नसक्दा प्रधानमन्त्री देउवाको आलोचना भएको थियो । झन्डै तीन महिना उहाँले पाँच मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार सञ्चालन गर्नुभएको थियो। तर ८८ दिनमा भने मन्त्रिपरिषदले पूर्णत पाएको छ । फेरि पनि मन्त्रिपरिषद् पूर्ण समावेशी बनाउन भने नसकेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना भएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले पनि गत ३२ साउनमा संसद् अधिवेशन अन्त्य गरेर १ भदौमा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । त्यस लगत्तै माधवकुमार नेपाल र महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्नुभएको थियो । उद्देश्य पूरा भएपछि सरकारले ११ असोजमा अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्नः सिफारिस गरेपछि देउवाले पनि केपी शर्मा ओलीकै शैली अवलम्बन गरेको भन्दै आलोचना भएको छ ।

यसबीचमा देउवा सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ । तर अझै नयाँ नियुक्ति भने हुन सकेको छैन । अहिले २३ देशमा राजदूत रिक्त छन् ।

सरकार गठन भएको सय दिन पुग्दा पनि प्रधानमन्त्री देउवा र उहाँ मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छैन । ऐनमा सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । तर अहिलेसम्ममा श्रममन्त्री किसनकुमार श्रेष्ठले मात्र सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि भने देउवा सरकारले प्रशंसानीय काम गरेको छ । विशेष गरि खोप व्यवस्थापनमा सरकार सफल भएको छ । देउवा सरकारले सयदिनमा एक करोड ३० लाख ७५ हजार आठ सय ६० डोज खोप देशमा भित्रिएको छ । खोप लगाउने क्रम पनि जारी छ । सरकारको खोप कुटनीति समेत सफल देखिएको छ । यसबीचमा चीन, भुटान, बेलायत, जापान र भारतबाट खोप आएको छ । यसअघिको ओली सरकारले ५७ लाख ८२ हजार आठ सय ५० डोज खोप जुटाएको थियो ।