
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौवटै जिल्लालाई २५–२५ लाख उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका नौवटै जिल्लामा तत्कालका लागि २५–२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
क्षतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्ने र तत्कालका लागि सबै जिल्लालाई २५–२५ लाख उपलब्ध गराउने निर्णय गरिएको प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले बताउनुभयो ।
प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार र तत्कालीन राहत उपलब्ध गराउन सो बजेट प्रयोग गर्न सकिने मन्त्री जोशीले जानकारी दिनुभयो । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा हुनेछ ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।