१२ बैशाख २०८१, बुधबार

‘जहाँ पनि पुलिसले लखेट्छ, हामी कहाँ जाने ?’दिल्लीमा अलपत्र नेपाली

new delhi

कोरोना भाइरसको त्रासका कारण नेपाल हिँडेका चार सयभन्दा बढी नेपालीहरु भारतको राजधानी नयाँदिल्लीमा अलपत्र परेका छन् । उनीहरु भारतका बैंग्लोर, चण्डीगढ, सिमलालगायतका ठाउँमा काम गर्दै आएका थिए ।

कोरोनाको त्रास बढेपछि घर फर्कनका लागि दिल्ली आइपुगेका हुन्। तर, भारतको केन्द्र सरकारले आइतबारदेखि यात्रुबाहक रेल र लामो दूरीमा चल्ने बस सेवा बन्द गरेपछि अहिले आइतबारदेखि उनीहरु दिल्लीकोस्थित आनन्द बिहार बसपार्कमा अलपत्र परेका हुन्।

‘दिल्ली आएपछि मात्र बस बन्द छ भन्ने थाहा भयो, पुरै अलपत्र पर्‍यौ’ दार्चुला, दल्लेखका सन्तोष चुनाराले कान्तिपुरसँग भने। उनी बैंगलोरमा होटलमा काम गर्थे। कोरोनाको त्रासले काम गर्ने होटल बन्द भएपछि घर जान हिँडेको उनले बताए। ‘सबै काम ठप्प भयो, कोरोनाको डर पनि थियो, अनि घर जान आएको,’ चुनाराले भने।

चुनारासहित चार सयभन्दा बढी नेपाली अहिले आनन्द बिहारमा बसपार्क क्षेत्रमा अलपत्र परेका हुन्। स्थानीय प्रहरीले एक ठाउँमा बस्न नदिएका कारण अहिले उनीहरुको अवस्था निकै टिठलाग्दो छ। बसपार्कभित्र छिर्न नपाएपछि आफूहरु त्यतिकै सडक छेउमा बसिरहेको चुनाराले भने। ‘जता गए पनि प्रहरीले लखेट्छ, कहाँ जाने के गर्ने भएको छ?’ उनले भने।

त्यसैगरी थप पच्चीसजना दिल्लीकै छतरपुरमा अलपत्र परेका छन्। उनीहरु दक्षिण भारतीय सहर बैंग्लोरबाट नेपाल जानका लागि दिल्ली आइपुगेका हुन्। सार्वजनिक यातायात नचलेका कारण उनीहरु अलपत्र अवस्थामा छन्। उनीहरु न त साबिककै ठाउँमा फर्किन सक्छन् न त घर नै जान सक्छन्। त्यसमाथि दिल्ली सरकारले सोमबारदेखि लकडाउन गर्दै धारा १४४ लागू गरेपछि उनीहरुलाई खाना र बस्नको समेत समस्या परेको छ।

अलपत्र परेका नेपालीहरुले सुरक्षित रुपमा घर पठाउन सरकारसमक्ष माग गरेका छन्। ‘अब यसरी सडकमा कति दिन बस्न सकिएलारु त्यसमाथि प्रहरीले सडकमै बस्न दिएको छैन। त्यसैले सरकारले चाँडो केही कदम चालोस्,’ चुनारले भने।

दिल्ली प्रवासी नेपाली संगठनहरुले अलपत्र परेका नेपालीहरुको उद्धारका लागि पहल भइरहेको बताएका छन्। अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले उनीहरुलाई दिल्लीमै राख्ने वा नेपाल फर्काउने भन्ने बारे दिल्लीस्थित नेपाली दूतावाससँग छलफल भइरहेको बताए। ‘भारतका विभिन्न ठाउँबाट आएकाहरु छन्। अब दूतावाससँगको समन्वयमा उचित प्रबन्ध गर्ने प्रयास झइरहेको छ’ खड्काले भने।

दिल्लीस्थित नेपाली दूतावासले पनि अलपत्र परेका नेपालीहरुका लागि तत्कालका लागि व्यवस्थापन गर्न पहल भइरहेको बताएको छ। दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले नेपालको सीमा बन्द भएको र भारतकै पनि कतिपय जिल्लाहरु बन्द गरिएकाले अलपत्र परेका नेपालीहरुलाई दिल्लीमै राख्नका लागि प्रयास भइरहेको बताए। ‘सीमासँगै भारतकै कतिपय जिल्लाहरु पनि बन्द छन् त्यही भएर केही दिनका लागि दिल्लीमै राख्ने अस्थायी प्रबन्धका लागि छलफल र गृहकार्यमा छुटेका छौं,’ रेग्मीले जानकारी दिए।

‘नाका बन्द भएको कुरा बीच बाटोमा थाहा भयो’

हामीहरु सबैजना बैंग्लोरमा काम गर्थ्यौं। कोही सुपरमार्केटमा, कोही होटल र रेष्टुराँमा काम गर्थेम्। कोरोनाको त्रासले सबै बन्द भएपछि साहुले एक दुई महिना घर बसेर आउ भनेपछि हिडेका हौं। काम गर्ने ठाउँ बन्द भएपछि त्यहाँ बसेर खान पनि मुस्किल थियो। त्यही भएर बाध्य भएर हिँड्यौं।

कोरोना लाग्ने हो कि भन्ने डर पनि थियो। अनि ठूला पन्ध्रजना र साना नानानानी दश जना गरेर जम्मा २५ जना गएको बिहिबार साँझ सात बजे दक्षिण भारतको बैंग्लोरबाट हिँडेका हौं। बैंग्लोरबाट हिँडिसकेपछि बीच बाटोमा मात्र नाका र सबैतिर बन्द भयो थाहा पायौं।

आइतबार बिहान साढे दश बजे हामीहरुलाई रेलले दिल्लीमा उतार्‍यो। यहाँबाट बस चढेर पिथौरागढ हुँदै आफ्नो घर (दार्चुला) जाने योजना थियो। तर, अहिले यहाँबाट कुनै पनि बस चलेको छैन। बाहिर निस्कन पनि पाइँदैन। खानाको पनि समस्या छ।

एकजना भारतीय साथीको दिल्लीकै छतरपुरस्थित डेरामा शरण लिएका छौं। ऊ पनि भोलि आफ्नो घर जाने भनेको छ। त्यसपछि हामीहरु सडकमा आउँछौं। अरुभन्दा पनि साना नानीहरुको चिन्ता लागेको छ। उनीहरु बिरामी परे भने अस्पताल जान पनि नपाउने अवस्था छ। त्यो सम्झँदा पनि चिन्ता बढेर आउँछ। त्यही भएर हामीहरुलाई जसरी पनि घर पुग्नु छ। हामीहरु अलपत्र परेको कुरा दूतावासलाई पनि जानकारी गराएका छौं। हामीहरुलाई जसरी भए पनि नेपाल फर्काउन दूतावास र नेपाल सरकारलाई आग्रह गर्छौं।
(कान्तिपुर दैनिकबाट)

    सम्बन्धित समाचार...