७ बैशाख २०८१, शुक्रबार

बेलायत तीन हप्तासम्म ‘लकडाउन’, चार कामका लागि मात्र घरबाट निस्कन पाइने

46b266d6b0fe4daea23d869c9284092e 18

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि बेलायतमा नयाँ नियम लागु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आवतजावत र जमघटमा कडाइ गर्दै लकडाउनको घोषणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घन्टामा मात्र ५५ जनाको मृत्यु भएको छ । यससँगै ब्रिटेनमा कोरोनाका कारण ३३५ पुगेको छ । नयाँ नियम अनुसार मानिसहरु दिनको एकपटक मात्रै घर बाहिर निस्कन पाउने छन् । यस्तै अत्यावश्यक काममा जान, अत्यावश्यक सामग्री किन्नका लागि एकपटक मात्रै निस्कन पाइने भएको छ ।

औषधि पसल तथा अत्यावश्यक सामग्री बाहेकका पसल बन्द गर्न प्रधानमन्त्री जोन्सनले आग्रह गरेका छन् । दुईजना भन्दा बढी जम्मा हुन नपाउने नियम लागु भएको छ।

डाइनिङ स्ट्रिटबाट टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सबै नागरिकलाई घरमै बस्न आग्रह गरेका छन् । उनकाअनुसार अब चार कामका लागि मात्र घर बाहिर जान पाइनेछ ।

  • दैनिक उपभोग्य बस्तु, औषधि जस्ता अत्यावश्यक बस्तु खरिदका लागि ।
  • उपचार वा हेरचारका लागि, जसमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नो अभिभावक भएको स्थानमा लैजाने पनि पर्छ ।
  • काममा जान र फर्किन पाइन्छ, तर यसरी गरिने काम घरबाट गर्न नसकिने हुनुपर्छ ।
  • व्यायामका लागि जस्तो दौडिन, हिँड्न वा साइकल चलाउन पाइनेछ । तर यो एक्लै वा सँगै बस्नेहरुमा मात्र पाइन्छ ।

प्रधानमन्त्री जोनसनले अत्यावश्यक बस्तु बाहेकका सबै पसल बन्द गर्न भनेका छन् र सार्वजनिक स्थानमा दुईभन्दा बढी मानिस एकसाथ बस्न रोक लगाएका छन् । लाइब्रेरी, खेल मैदान, आउटडोर जिम र सबै धार्मिक स्थल बन्द हुनेछन् । पार्कमा व्यायामका लागि जान सकिनेछ, तर मानिसहरु जम्मा हुन पाइँदैन ।

सरकारले मानिसहरुको जमघट हुने सामाजिक कार्यक्रमहरुमा पनि रोक लगाएको छ । विवाहमा पनि रोक लागेको छ । तीन सातापछि प्रतिबन्धको समीक्षा गर्ने र अवस्था हेरेर निर्णय लिने प्रधानमन्त्री जोनसनले बताएका छन् ।

प्रतिबन्ध उल्लंघन गर्नेहरुलाई जरिवाना गर्ने समेत प्रधानमन्त्री जोनसनले बताएका छन् ।