१५ चैत्र २०८०, बिहीबार

चिकित्सकको भनाइ: दसैँमा मासु खाने संस्कृति, स्वास्थ्यका लागि हानिकारक, माछा उत्तम

masu

नेपालीहरुको महान् चाड बडा दसैँको रौनक घरघरमा भित्रिएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मासुको कुरालाई प्राथमिक पनि आइहाल्छ ।

दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहेको चिकित्सकहरु बताउँछन् । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँंका समयमा अस्पतालमा पुग्ने गरेको भरतपुर अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी बताउनुहुन्छ ।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको उहाँले बताउनुभयो । ‘एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइदैन’ अधिकारीले भन्नुभयो ।

नेपालीले चाडपर्वको अवसरमा दसैँमा प्रोटिनयुक्त र तिहारमा कार्बोहाइड्रेडयुक्त खानाका साथै चिल्लो र चिसो पेय पदार्थ अत्यधिक सेवन गर्ने गरेका अधिकारीको भनाइ छ । ‘चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको छ’ अधिकारीले भन्नुभयो, ‘नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि रक्सी र चुरोट मिसाउँदा झनै समस्या हुने गरेको छ ।’ कोरोना सङ्क्रमण केही न्यून भएको अवस्थामा मानिसको बढी हिँडडुलले सरुवा रोगहरुको प्रकोप वृद्धि हुने अधिकारीले बताउनुभयो ।

भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अंकोलोजी विभागका चिकित्सक डा गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘दसैँमा मासु खाँदै नखाने भनी रोक्न सकिँदैन तर खाँदा सावधानी भने अपनाउनुपर्छ । बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिन्छ ।’

बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पान्न हुने प्रतिकृयाबाट क्यान्सर आन्द्राको क्यान्सर हुने सम्भावना रहेको साहले बताउनुभयो । धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा त्यो चिन्ताको विषय हुने उहाँको भनाइ छ । आगोमा पोलेको वा धेरै पकाइएको मासुको कारण पनि आन्द्राको क्यान्सरको विकासको सम्भावना बढ्ने साहले बताउनुभयो ।

मानिसले प्रतिदिन ७० ग्रामभन्दा बढी मासु खान नहुने भन्दै उहाँले मासुको अत्यधिक सेवनले आन्द्राको क्यान्सर हुने सम्भावना बढाउने बताउनुभयो । रक्सी र मासु धेरै पिउने व्यक्तिमा समेत आन्द्राको जोखिम बढी भएको उहाँले बताउनुभयो । क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान साहको सल्लाह छ ।

चितवन मुटु अस्पतालका सञ्चालक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा शंकर लौडारीले रातो मासुको अत्याधिक प्रयोगले संवेदनशील अंग मुटुमा असर पार्ने जोखिम उच्च हुनुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउने बताउनुभयो । ‘दसैँमा खसीको मासु खानैपर्छ भन्ने छैन’ उहाँले भन्नुभयो, ‘एक छाकमा तीन, चार टुक्रा मात्र मासु खाँदा राम्रो हुन्छ । अझ सकेसम्म सेतो मासुले स्वास्थ्यका लागि फाइदा गर्छ ।’ खानको साथमा बजारमा पाइने पेय पदार्थको सेवन नगर्न सल्लाह दिँदै उहाँले पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न सल्लाह दिनुभयो ।

मासुको धेरै प्रयोगले मुटुमा अतिरिक्त बोसो जम्मा हुँदा मुटुको रक्तनलीमा समस्या हुने भन्दै उहाँले त्यसले अन्य रोगलाई पनि बढावा दिने बताउनुभयो । ‘रातो मासु स्वास्थ्यका लागि राम्रो मानिदैन’ लौडारीले भन्नुभयो, ‘खसीको मासु खानै परेमा छाला र बोसो हटाएर खानुपर्छ । कम तेल र मसलाको प्रयोग गरेर खाँदा स्वास्थ्यलाई कम असर पु¥याउँछ ।’ खसीको मासुमा कोलेस्ट्रोल बढी हुने भएकाले सकेसम्म मासु उमालेर खान लौडारीको सुझाव छ ।

मासुको विकल्पमा माछा प्रयोग गर्न सकिने भन्दै डाक्टर लौडारीले माछामा हुने ओमेगा फ्याट्री एसिडले कोलेस्ट्रेललाई नियन्त्रणमा राख्दा मुटुका लागि फाइदा पुग्ने बताउनुभयो । चिकित्सकहरुले जनतालाई ‘सेकुवा’ सेवन नगर्न आग्रह गर्दै यो स्वास्थ्यको लागि हानिकारक भएको बताए । आगोमा पोलेको मासुले हाइड्रो कार्बन उत्पादन गर्ने भन्दै यसले पेट, आन्द्रा र छालाको क्यान्सर हुनसक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।