
मुगुमा भएको बस दुर्घटनामा निधन हुनेको संख्या ३२ पुगेको छ भने १२ जना घाइते भएका छन् ।
२४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगञ्ज पुर्याएका थप ४ जनाको निधन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनसभयो ।
उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चारजनाको उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारका लागि पठाइएका १६ जना घाइतेमध्येबाट चार जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्याउँदै मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ,’ उहाँले बताउनुभयो ।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो ।
