
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलवारदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गरेको छ ।
प्रशासन कार्यालयले चाडपर्वमा भिडभाड नगर्न आदेश जारी गरेको छ ।
जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसिएमसी) को बैठकले समुदायमा संक्रमणदर घटिरहेको तथा साप्ताहिक रूपमा मृत्युदर घटेको अवस्थामा काभ्रे ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो ।
निषेधाज्ञा सोमवार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भनिएको छ । चाडपर्वमा बजारमा भिडभाड नगर्न, हिँडडुल गर्दा तथा भेला, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, ब्युटीपार्लर, जिमखाना आदि सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा एवं सामाजिक दूरी कायम गर्नुपर्ने, हाट, मेला, जात्रा महोत्सवमा भिडभाड कम गर्ने तथा निर्धारित जनस्वास्थ्यका मापदण्ड अपनाउन जारी आदेशमा उल्लेख गरिएको छ ।
साथै, गोष्ठी, सेमिनार, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलाप सकेसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने, सार्वनजिक यातायातका साधानमा कुल सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, विकास–निर्माणका सामग्री ढुवानी जिल्लाभित्र साँझ ७ देखि बिहान ६ बजेसम्म तथा जिल्ला बाहिर राति ९ देखि बिहान ५ बजेसम्म मात्रै गर्ने आदेश जारी गरिएको छ । आदेश अवज्ञा गर्ने जो–कोहीलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८, संक्रामक रोग ऐन–२०२० तथा स्थानीय प्रशासन ऐन–२०२८ अनुसार सजाय हुने जनाइएको छ ।