२६ बैशाख २०८१, बुधबार

पौडेललाई पराजित गरेका किसान श्रेष्ठलाई ‘मन्त्री उपहार’

Kisan Shrestha 3

तनहुँ नेपाली कांग्रेसको लागि उर्बर जिल्ला । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कुनै बेलाका चल्दापुर्जा नेता गोविन्दराज जोशी, शंकर भण्डारी, गोविन्द भट्टराईदेखि प्रदीप पौडेलसम्मका नेताहरु तनहुँले जन्माएको हो । तनहुँका कांग्रेसका नेताहरुको गहिरो प्रभाव राष्ट्रिय राजनीतिमा छ । एक हिसाबले तनहुँमा कांग्रेसले तलसम्म जरा जमाएको छ ।

०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट विजयी बन्दै आएका थिए । पौडेलले छाडेपछि उनको विरासत कांग्रेसकै नेता गोविन्दराज जोशीले सम्हाले। जोशीले तनहुँ १ बाट ०५१ र ०५६ मा भएको संसदीय निर्वाचनमा जिते ।

गत निर्वाचनमा कांग्रेस वरिष्ठ नेता उनै जोशीले सम्हाल्दै आएको क्षेत्र नं १ का अधिकांश भूभाग समेटिएको क्षेत्र नं २ को भूगोलमा पौडेल २४ बर्षपछि फर्किए । तनहुँका सबै क्षेत्र कम्युनिष्ट पार्टीका लागि खोरिया फाड्नु जस्तै थियो । त्यही क्षेत्रमा नेकपा (एमाले)ले कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई पठायो । कांग्रेसको उर्बरभूमिमा गएर कम्युनिष्टका लागि खोरिया फाड्न तयार भए व्यवसायमा सफल भइरहेका श्रेष्ठ । २०३८ सालदेखि राजनीतिमा आबद्ध भए पनि श्रेष्ठको मुख्य पेशा व्यवसाय थियो ।

होटल, हाउजिङ, रियलस्टेट, ग्यांस र म्याट्रेस उद्योगमा सफलता हात लगाइरहेका श्रेष्ठ राजनीतिमा आक्रामक रुपमा प्रस्तुत भए । जनताको दैनिकी र विकाससँग जोडिएका कामहरुमा हस्तक्षेपकारी भूमिका निभाए । श्रेष्ठ त्यसैको तागतमा २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ६ हजार ८ सय १४ मत अन्तरले पराजित गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । श्रेष्ठ भन्छन्, ‘यो क्षेत्र कम्युनिष्टको लागि बाँझो जग्गा जस्तै थियो । मैले खोरिया फाँडेर कम्युनिष्टका लागि मलिलो बनाएकै हुँ ।’

तनहुँको निर्वाचन क्षेत्र नं १ मा देवघाट गाउँपालिका, आबुखैरहनी गाउँपालिका, बन्दीपर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाको वडा नं १,२,३,४, ७,८,९,१०,११,१२,१३, १४ नम्वर वडाहरु पर्दछ । क्षेत्र नं १ को प्रदेश क्षेत्र (क) मा व्यास नगरपालिकाको वडा नं २,३,४,७,८,९,१०,११ र भानु नगरपालिका पर्दछ भने प्रदेश क्षेत्र २ मा व्यास नपाको वडा नं १, १२, १३, १४, बन्दीपुर गाउँपािलका, आबुखैरहनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । यो सबै क्षेत्रमा कांग्रेस बलियो थियो ।

पौडेल प्रजातान्त्रिक आन्दोलनमा निरन्तर लागिरहेका शालिन नेता हुन् । पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि पौडेल राजनीतिमा होमिएका थिए । सुशील कोइरालाको मृत्युपछि कांग्रेसको कार्यवाहक सभापति समेत भइसकेका पौडेलले पाँच पटक संसदीय चुनाव जितेका छन् । उनले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं २ बाट विजय हासिल गरेका थिए ।

तनहुँ क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालको दुवै संविधान सभाको निर्वाचनमा पौडेल निर्वाचित भएका थिए । र श्रेष्ठले पौडेललाई पछारे । बीपी, गणेशमान, कृष्णप्रसादको सानिध्यमा हुर्केका भावी प्रधानमन्त्रीको आधार भएका पौडेललाई श्रेष्ठले पराजित गरे । श्रेष्ठले केवल पौडेलाई मात्रै होइन मुलुकको हुनेवाला प्रधानमन्त्रीलाई हराइदिए ।

प्रतिबद्धता पुरा नभएपछि नयाँ पार्टीमा

श्रेष्ठ पछिल्लो समयमा नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली निकट थिए । कांग्रेसको दोस्रो नेतालाई पराजित गरेको, कांग्रेसको बलियो किल्ला भत्काएको र तनहुँमा पार्टीलाई थप बलियो बनाउन आफू मन्त्री हुनुपर्ने उनको दलिल थियो । अध्यक्ष ओलीले पनि मन्त्री बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर ओलीले पटक(पटक मन्त्रीपरिषद् पुनःगठन गर्दा समेत उनलाई अवसर दिइएन ।

श्रेष्ठले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने समयमा ओलीको साथ छोडेका थिए । अर्थात् बिद्रोह गरे । उतिबेला उनले एकाएक समूह बदल्दा धेरैले अचम्म समेत माने । यसपछि उनी वरिष्ठ नेता माधवकुमार नेपालको साथमा लागे । नेकपा (एकीकृत समाजवादी) निर्माणमा आक्रामक ढङ्गले उनी लागे । श्रेष्ठलाई मन्त्री बनाए गण्डकीमा पार्टीलाई बलियो बनाउने विश्वासको साथ मन्त्री बनाएका छन् ।

नेपाली कांग्रेसका गड मानिएको तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्ने श्रेष्ठलाई ओलीले अवसर दिएनन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने कम्युनिष्टको खडेरी परेको तनहुँमा कम्युनिष्टलाई जित हासिल गराउने श्रेष्ठलाई मन्त्री बनाएर पुरस्कृत गरेका छन् ।

मन्त्री श्रेष्ठका लागि यो महत्वपूर्ण अवसर हो । उनका लागि केही गरेर देखाउने मौका पनि हो । बिहानीले दिनको संकेत गर्छ भने जस्तै उनले सबैभन्दा छिटो सम्पत्ति विवरण सार्वजनिक गरेर केही सकारात्मक संकेत दिइसकेका छन् ।