१५ चैत्र २०८०, बिहीबार

संसद अवरुद्ध गर्न एमालेलाई अधिकार छैन, संसद छोडेर गए हुन्छः अध्यक्ष प्रचण्ड

संसद अवरुद्ध गर्न एमालेलाई अधिकार छैन, संसद छोडेर गए हुन्छः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई संसद छोडेर जनतामा जान चुनौति दिएका छन् ।

प्रेस सेन्टरले आज विहान भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले लगातार संसद अवरुद्ध गर्दै आएको एमालेसंग संसद अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार नभएको बताए । ‘आफैले पटक–पटक विघटन गरेको संसद अवरुद्ध गर्ने एमालेलाई अधिकारी छैन, बरु संसद छोडेरै गए त भइहाल्यो, विरोध नै छ भने त जनतामा गए हुन्छ’–अध्यक्ष प्रचण्डले भने । उनले एमालेसंग संसद अवरुद्ध गर्नमा कुनै तर्क, तथ्य पनि नभएको बताए । ‘संसद अवरुद्ध गर्नुको कुनै न तर्क छ, न त कुनै तथ्य नै, संसद विघटनलाई जायज पुष्टि गर्नका लागि मात्रै संसद अवरुद्ध गरिरहेको हो ।’–अध्यक्ष प्रचण्डले भने ।

यस्तै अध्यक्ष प्रचण्डले सत्ता घटक मन्त्रीपरिषद् विस्तारमा न्यायलाई भागबण्डा नगरेको स्पष्टीकरण समेत दिएका छन् । नेपाली कांग्रेसको कोटाबाट गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेको भन्दै अनावश्यक हो हल्ला गर्नुको तुक नभएको प्रचण्डको भनाई थियो । संसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भएकाले सोही अनुरुप मन्त्री बनाइएको बताए । उनले संसद विघटनदेखि नै आफूहरुले सेटिङ सेटिङ भन्दै आएकाले अहिले अरुले पनि त्यही शब्द प्रयोग गर्न थालेको बताए । अध्यक्ष दाहालले लामो समयपछि पूर्ण आकारमा मन्त्रीपरिषद् विस्तार हुनु नै सकरात्मक पक्ष भएको बताए ।

अध्यक्ष दाहालले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)संग तत्काल पार्टी एकता नहुने भन्दै निर्वाचनसम्म तालमेल गरेर जाने राम्रो समझादारी बनेको बताए । उनले चितवनमा पनि समझादारीका साथ अघि बढ्ने बताए । हेलिकप्टर मार्फत चितवन आएका प्रचण्ड आजै नवलपरासी जाँदै छन् ।