१४ बैशाख २०८१, शुक्रबार

सुर्खेतमा बालविवाह बढ्दै, प्रविधिको दुरुपयोग र गरिबी मुख्य कारण

Child Marriage
सांकेतिक तस्विर

नेपालमा बालविवाह हुनु नौलो विषय मानिदैन । देशका हरेक जिल्लामा अहिले पनि बालविवाह भएका घटनाहरु सार्वजनिक भइरहन्छन् । पछिल्लो समय प्रविधिको दुरुपयोग र गरिबीका कारण प्रायः युवायुवतीको उमेर नपुग्दै बालविवाह गर्न बाध्य छन् । सुर्खेतको एक गाउँका बालबालिकाहरु पढ्ने उमेरमा केही गर्नुपर्छ भन्ने सोच राख्न नपाउँदै गरिब भएकै कारण विवाह गर्न बाध्य छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै जडिएको गाउँपालिका हो, बराताल । यही गाउँपालिकाको वडा नम्बर ६ मा रहेको छ इखेनी गाउँ । यही गाउँका युवायुवती पढ्ने र केही गरौं भन्ने उमेर नपुग्दै बालविवाह गर्न बाध्य छन् । पढ्ने रहर हुँदाहुँदै पनि गरिबीका कारण १४ देखी १६ वर्षको उमेरमा यहाँका किशोरीहरु विवाह गर्न बाध्य छन् ।

उमेर नपुग्दै विवाह गर्नुको मुख्य कारण गरिबी हो । दैनिक छाक टार्न समस्या भएपछि छोराछोरीलाई सानै उमेरमा विवाह गराउन बाध्य भएको अभिभावक नै स्वीकार गर्छन् । विहान खायो साँझ के खाने साँझको छाक टार्यो विहानको पिरलोकै कारण बालविवाह गर्नु इखेनीका किशोरकिशोरीको बाध्यता हो ।

इखेनी गाउँ हेर्दा सुन्दर छ । तर यहाँको उत्पादनले मुश्किकले तीन महिना पुग्छ । छेउमै भेरी नदी बगिरहे पनि प्रयाप्त सिँचाईको व्यवस्था छैन् । इखेनीका अधिकांश बालबालिका ठूलै उमेरका नागरिकहरु रोजगारीका लागि भारतको कालापहाड पुग्नुपर्ने बाध्यता रहेको मध्यपश्चिम विश्वविद्यालयका सुर्खेतका प्राध्यापक खगेन्द्र अधिकारीले बताउनुभयो ।

सशस्त्र द्वन्द्वको बेला तत्कालिन नेकपा माओवादीले इखेनीमा २०६० सालमा वस्ती बसालेको हो । एक सय बढी घरधुरी रहेको यो गाउँमा झण्डै चार सय जनसंख्या छ । आगनमै स्थानीय सरकार भएपनि यहाँका नागरिकहरुको जीवनस्तर उकास्न ठोस योजना लागु गरिएको छैन् ।