१४ बैशाख २०८१, शुक्रबार

आज विश्वासको मत लिने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको तयारी

Astha Laxmi Shakya

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजदेखि शुरु हुने प्रदेश सभाको नवौँ अधिवेशनबाट विश्वासको मत लिनु हुने भएको छ ।

शाक्य उपाध्यक्ष रहेको नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री रचना खड्काका अनुसार आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दसैंपछि मात्र हुनेछ।

संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

एमालेका तर्फबाट एकल बहुमतसहित शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । वाग्मती प्रदेशमा सभामुखसहित एक सय ९ सांसद छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । तर पाटी विभाजन अघि एमालेका ५६ सांसद रहेकोमा विभाजन भएपछि १३ सांसद एकीकृत समाजवादीमा गएपछि अहिले वागमतीमा एमालेका ४३ सांसद छन् ।

गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।

उनीहरुले शाक्यलाई मत नदिने जनाएका छन्। यी दलबाहेक विवेकशील साझा पार्टीको तीन, नेमकिपा दुई, राप्रपा दुई र स्वतन्त्र एक सांसद छन् । शाक्य गएको भदौ दुई गते नेपालकै पहिलो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।