१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनीको मन्न्त्रिपरिषद् विस्तार गर्ने तयारी, को–को बन्दै छन् मन्त्री ?

kul prasad kc
फाइल फोटो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि मुख्यमन्त्री केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

गठबन्धनका मुख्य दलहरु कांग्रेसबाट २ र माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्ने ३ जनाको नाम टुंगो लगाएका छन् ।

बिहीबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले माओवादीबाट २ जना मन्त्री र १ जना राज्यमन्त्रीको टुंगो लगाएको हो ।

दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारु मन्त्रीका रुपमा सरकारमा सहभागी हुने भएका छन् । यस्तै, दाङकै बिमला खत्री ओली राज्यमन्त्री बन्ने भएकी छन् ।

कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँ मन्त्री बन्ने निश्चित भएको पार्टीका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।