१६ चैत्र २०८०, शुक्रबार

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण

World Bank

सन् २०२१/२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ

। हालैमात्र जारी गरेको बैंकको रिपोर्ट अनुसार कोभिडपछि यो वर्ष समग्रमा दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदरमा सुधार आउने बताएपनि नेपालको भने ४ प्रतिशत तलै रहने बैंकले बताएको हो । सरकारले भने यस वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

बैंकका अनुसार यस वर्ष दक्षिण एसियामा नै सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशतले आर्थिक वृद्धि रहने छ । यस्तै, भारतको ७.५ प्रतिशत, बंगलादेशको ६.४ प्रतिशत र सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत रहने बैंकले प्रक्षेपण गरेको छ ।

यता भुटान र पाकिस्तानको आर्थिक वृद्धिदर भने सरदर नेपालको जस्तै हुने बैंकले जनाएको छ ।यद्यपि, यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर भने औषतमा ७.१ प्रतिशत रहने बैंकले जनाएको छ ।

कोभिड–१९ को प्रभाव क्रमशः घट्दै गएकाले आर्थिक क्षेत्रको गतिविधि बढ्दै जाँदा यसको प्रभाव समग्र दक्षिण एसियाली मुलुकमा पर्ने बैंकले जनाएको छ ।

त्यसो त अघिल्लो आर्थिक वर्ष २०१९/२० मा २.१ प्रतिशतले ऋणात्मक रहेको नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२०/२१ मा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकको भनाइ छ ।