१६ चैत्र २०८०, शुक्रबार

काठमाडौँ जिल्ला साक्षर घोषित

book

काठमाडौँ जिल्लालाई सोमबार साक्षर घोषणा गरिएको छ । जिल्लामा ९६ प्रतिशतभन्दा माथिल्लो साक्षरता प्रतिशतमा पुगेपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।

सोमबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले साक्षर काठमाडौँको घोषणा गर्नुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेलले सबै मापदण्ड पूरा भएपछि साक्षर काठमाडौँ घोषणा गरिएको जानकारी दिनुभयो ।

सो अनुसार शङ्खरापुर ९६.५ प्रतिशत, कागेश्वरी मनोहरा ९६.९७ प्रतिशत, गोकर्णेश्वर ९५.०४ प्रतिशत, बूढानीलकण्ठ ९८.६९ प्रतिशत, टोखा ९८.५४ प्रतिशत, तारकेश्वर ९८.०८ प्रतिशत, नागार्जुन ९७.८ प्रतिशत, चन्द्रागिरि, ९६.४७ प्रतिशत, कीर्तिपुर ९५ प्रतिशत, दक्षिणकालीमा ९६ प्रतिशत र काठमाडौँ महानगरपालिकामा ९६.६० प्रतिशत रहेको जनाइएको छ ।

विश्वव्यापी अभ्यास समेतलाई अनुशरण गर्दै १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका सम्बन्धित क्षेत्र एवं जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने सरकारको नीतिगत निर्णयका आधारमा काठमाडौँलाई साक्षर घोषणा गरिएको हो ।

काठमाडौँलाई साक्षर घोषणा गरिए पनि दिगो साक्षरताका केही चुनौती रहेको जनाइएको छ । एकाइका प्रमुख पौडेलले खासगरी कमजोर मापदण्ड, कार्यक्रममा प्राथमिकता, वैध आँकडा, विद्यार्थी भर्ना, समुदाय स्तरमा पुस्तकालय र सूचना केन्द्रको स्थापना, अवसरको समुचित वितरण, संरचनागत समस्या कमजोर सामुदायिक सिकाइ केन्द्र आदि चुनौती रहेको जानकारी दिनुभयो ।

यसका साथै आगामी दिनमा सामुदायिक सिकाइ केन्द्रको सशक्तीकरण, वैकल्पिक विद्यालयको उद्देश्यका आधारमा नियमन, साक्षरताका मापदण्डलाई समयानुकूल सुधार आवश्यक पर्नेमा जोड दिइएको छ ।

साथै बालबालिका विद्यालय बाहिर नरहेको अवस्थाको घोषणा, सन्तुलित विकास, कार्यमूलक साक्षरताको मर्म अनुसार साक्षरोत्तर कार्यक्रम सञ्चालन, राज्य सञ्चालनका तीन तह बीच बलियो समन्वय र सहकार्य तथा सङ्घीय शिक्षा ऐन एवं अन्य कानुनी संरचनाको अविलम्ब विकास नै अबको आवश्यकता भएको उहाँले जानकारी दिनुभयो ।