१६ चैत्र २०८०, शुक्रबार

वीरेन्द्रनगर बजारमा नक्कली नोट फेला, कसरी चिन्ने नक्कली नोट ?

nakkali dupicate note currency

गत भदौको महिनाभर वीरेन्द्रनगर बजारमा नक्कली रुपियाँ छ्यापछ्याप्ती फेला परेको थियो । किनमेलका क्रममा चार ठाउँबाट एक–एक हजार रुपियाँका चारवटा नक्कली रुपियाँ फेला परेपछि बजारमा नक्कली रुपियाँ फैलिइसकेको अनुमान छ ।

वीरेन्द्रनगर बजारमा पान व्यवयासी मनोज साहको पसलमा ग्राहकले भदौ दोस्रो साता एक हजार रुपियाँको नोटबाट सामान खरिद गरेका थिए । पसलमा श्रीमती बसेका कारण उक्त रुपियाँ दिने व्यक्तिको पहिचान गर्न नसकेको साहले बताउनुभयो आफूले उक्त नोट सुरक्षित राख्दै अन्य सर्वसाधारणलाई नक्कली नोट यस्तो हुन्छ भनेर सचेत गराइरहेको बताउनुभयो ।

यस्तै वीरेन्द्रनगर–४ का दिलमाया सोडारीको पसलमा पनि सामान किन्न आउने ग्राहकले नक्कली एक हजार रुपियाँको नोट छाडेका थिए । साँझको समय हुँदा सक्कली नै नोट भनेर उहाँले राख्नुभयो । तरकारी किन्न जाँदा व्यापारीलाई दिँदा मात्र थाहा पाइयो कि त्यो नोट नक्कली हो, मोटर साइकलमा आएका दुई जना युवाले सो आफूलाई दिएको सोडारीले बताउनुभयो ।

यसैगरी सुर्खेतस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा पनि एउटा नक्कली नोट फेला परेको छ । बैङ्कका सुर्खेत प्रबन्धक लीलाराम ढुङ्गानाले करिब दुई महिनायता नक्कली नोट भित्रिएको आशङ्का गर्नुभएको छ । उहाँले बैङ्कमा नक्कली नोट सटही गर्न आउनेलाई प्रहरीमा खबर गरेर बुझाइसकेको जानकारी दिँदै सर्वसाधारणलाई सचेत रहन सुझाव दिनुभयो ।

नक्कली नोटको अनुसन्धान गर्न प्रशासन तथा राष्ट्र बैङ्कसम्म जानकारी गराइसकेको उहाँको भनाइ छ ।

यता वीरेन्द्रनगर बजारमा नक्कली नोट फेला पर्न थालेपछि प्रहरी प्रशासनले अनुसन्धानलाई कडाइ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नक्कली नोट रहेका एक जनालाई पक्राउ गरिसकेको र अन्यको पनि खोजी तथा अनुसन्धान भइरहेको बताउनुभयो । चाडपर्वको बेला पैसामाथि धेरै ध्यान दिने नगर्दा सक्कली नोटको बीचमा नक्कली नोट मिसाउने गरेको पाइन्छ । रुपियाँ लिँदा राम्ररी हेरेर लिन बैङ्क तथा प्रशासनले आग्रह गरेको छ ।

कसरी चिन्ने नक्कली नोट ?

राष्ट्रिय वाणिज्य बैङ्क सुर्खेतका प्रबन्धक लीलारामका अनुसार नक्कली नोटको दायाँ भागको सेतो खाली भागमा लालीगुराँसको पानी छाप हुँदैन । यस्तै सक्कली नोटमा रहेको चाँदीको रेखानेर एमआरपी भनेर लेखिएको हुन्छ तर नक्कलीमा त्यो लेखिएको हुँदैन । सक्कली नोटमा चाँदीको रेखा झैँ देखिने झिलझिले माथिदेखि तलसम्म हुन्छ तर नक्कलीमा त्यो रेखा हुँदैन ।
यसैगरी सक्कली नोटमा बायाँ भागमा भगवतीको चित्र हुन्छ, जुन हातको औँलाले छुँदा प्रस्ट थाहा हुन्छ तर नक्कली नोटमा त्यो चित्र छुँदा पत्ता लाग्दैन ।

नक्कली नोटको आकार सक्कलीभन्दा केही सानो हुन्छ । सक्कली नोटको रङ उज्यालो र कडा खालको हुन्छ तर नक्कली नोटको रङ हल्का र खुइलिएको जस्तो देखिन्छ ।