६ चैत्र २०८०, मंगलवार

एक साता संसद बैठक पर सरेसँगै ओली सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय

RS KTM samsad 20200510 Samsad2 650x379 1
फाइल फोटो

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन् ।

संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । संसद् बैठक धकेलिँदा २५ गते पेस भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि निष्क्रिय बन्ने भएको छ ।

अब सरकारले बजेटसम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने विज्ञहरूले बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ गते शुरु भएको संसद् अधिवेशनमा पहिलो दिनदेखि नै सभामुखविरुद्ध नाराबाजी गर्दै आएको छ ।

एमालेले निरन्तर अवरोध गरिरहेका कारण देखाई सरकारले बजेट प्रतिस्थापन विधेयक र अन्य १० अध्यादेश अगाडि नबढाएपछि ती सबै संविधानको व्यवस्थाबमोजिम निष्क्रिय बन्ने भएका हुन् ।

अध्यादेश जारी भएपछि शुरु हुने संसद् अधिवेशनले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अधिवेशन शुरु भएको ६० दिनसम्म पनि पारित हुन नसक्ने अध्यादेश निष्क्रिय हुन्छन् ।

संसद् अधिवेशन गत साउन ३ गते शुरु भएको थियो । भदौ ३० गतेभित्र सबै अध्यादेशको प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने थियो तर यसो हुन नसक्दा अध्यादेशहरू निष्क्रिय बन्ने भएका हुन् ।

प्रतिस्थापन विधेयक ल्याई दुवै सदनबाट पारित गरेपछि मात्रै अध्यादेशले वैधानिकता प्राप्त गर्छ । निष्क्रिय हुने अध्यादेशमा शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश लगायत छन् ।