१५ चैत्र २०८०, बिहीबार

अफगानिस्तानको पञ्जसीरमा जारी युद्धमा कम्तीमा २० सर्वसाधारण मारिए

अफगानिस्तानको पञ्जसीर उपत्यकामा जारी युद्धमा कम्तीमा २० जना सर्वसाधारणको निधन भएको छ ।

तालिबान र उसका विरोधीबीच पञ्जसीरमा कम्तीमा २० जना सर्वसाधारण मारिएको बेलायती सञ्चारमाध्यम बीबीसीले दाबी गरेको छ ।

संयमता अपनाउने वाचा गरेपनि तालिबानले व्यक्ति हत्या गरिरहेको प्रमाण प्राप्त गरेको बीबीसीको दाबी छ। त्यहाँ सञ्चारसेवा अवरुद्ध रहेकाले थप विवरण प्राप्त गर्न गाह्रो भएको बताइएको छ ।

पञ्जसीरको एक सडक किनारको भिडिओ क्लिपमा सैन्य पोशाकमा रहेका एक जनालाई तालिबान लडाकुले घेरिरहेको देखिन्छ । त्यसपछि गोली चलेको आवाजसहित उक्त व्यक्ति जमिनमा ढलेको देखिन्छ।

सैन्य पोशाक त्यहाँ सामान्य रहेकाले मारिने व्यक्तिबारे थप स्पष्ट हुन सकेको छैन । उक्त भिडिओमा अर्को एक जना उनी सर्वसाधारण नागरिक भएको कराएको सुन्न सकिन्छ ।

मृतक मध्ये एक जनाको नाम अब्दुल सामी रहेको बताइएको छ । उनी त्यहाँ एक सामान्य पसल चलाउने दुई बच्चाका पिता रहेको बताइएको छ ।

उनलाई विरोधी लडाकुलाई सिमकार्ड बेचेको आरोपमा तालिबान लडाकुले नियन्त्रणमा लिएका थिए । त्यसको केही दिनपछि उनको शव घर नजिकै भेटिएको थियो ।