१३ बैशाख २०८१, बिहीबार

नेकपा एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राई चयन

rajendra rai

नेकपा एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन हुनु भएको छ ।

नेकपा एमाले विभाजनबाट बनेको एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको बैठकले आज राजेन्द्र राईलाई दलको नेता चयन गरेको हो ।

बैठकले अब भीम आचार्य नेतृत्वको सरकारलाई आफूहरुको समर्थन नरहेको जानकारी पत्र प्रदेश संसद सचिवालयमा पठाउने निर्णय पनि गरेको समाजवादीका नेता राजन राईले जानकारी दिनुभयो ।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नेकपा एकीकृत समाजवादी रोजेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको हो ।

बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकाले अब उहाँले असोज ९ गतेभित्र विश्वासको मत लिनुपर्ने छ ।

एमालेले तत्कालिन मुख्यमन्त्ती शेरधन राईलाई पदबाट राजीनामा दिन लगाएर गएको भदौ १० गते प्रदेश १ को मुख्यमन्त्रीमा आचार्यलाई बनाएको थियो ।

प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।