१४ बैशाख २०८१, शुक्रबार

स्वार्थका लागि पार्टी फुटाउनेलाई जनताले साथ दिदैनन्ः पृथ्वी सुब्बा गुरुङ

Prthiv subba Gurung

कांग्रेस र माओवादीलाई इच्छा पुरा गर्न माधव नेपालले पार्टी फुटाएको एमाले नेताहरुले आरोप लगाएका छन् । एमाले सचिव पृथ्वी सुब्बा गुरुङले स्वार्थका लागि पार्टी फुटाउनेलाई जनताले साथ नदिने बताए ।

नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेकपा माओवादी पार्टीको इच्छा पुरा गर्न माधव नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् ।

नेकपा एमाले तनहुँले आइतबार दमौलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सचिव गुरुङले नेपाली जनताको ईच्छा र आवश्यकता पुरा गर्नलाई नभई अन्य पार्टीको स्वार्थ र इच्छा पुरा गर्न पार्टी फुटाएको बताए ।

केपी ओलीले ५÷१० वर्ष शासन गरे अरु पार्टीको अस्तित्व समाप्त हुन सक्ने अवस्था भएको हुँदा सबै पार्टीको आँखा लाग्यो र हाम्रो पार्टी फुटाएको दाबी गर्दै सचिव गुरुङले पार्टी फुटाएर माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादीमा जानेलाई पिलोको संज्ञा दिंदै अव पार्टी स्वच्छ बन्ने बताएका छन् ।

नवौं महाधिवेशन पछि पार्टीमा पिलो बढेर गएको र त्यो पिलोले धेरै दुःख दिएको भन्दै माओवादी केन्द्रसंगको एकतापछि पिलो हराउँछ की भन्ने लागेपनि झन बढ्दै गएको थियो त्यो पिलो फुटेर गयो अब एमाले स्वच्छ बन्ने बताए ।

गण्डकी प्रदेशका निवर्तमान मुख्मन्त्रीसमेत रहेका गुरुङले एकीकृत समाजवादीमा गएका स्थानीय तहका जनप्रतिनिधिलाई पिलोको पिप भएको टिप्पणी गरेका छन् ।

उनले गण्डकीमा एक हजार ७६० मध्ये ३८ जना पिलोको पिप बगेर गएका र यसले एमालेलाई कुनै असर नपर्ने बताए ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमाले विभाजन नभएको दाबी गरेका छन् । उनले एमाले खहरे खोला नभई सेती, मादी, गण्डकी नदी जस्तै अनवरात बग्ने पार्टी रहेको बताए ।

समाजवादीमा गएका जनप्रतिनिधि मूलधारमा फर्किए पार्टीले स्वागत गर्ने बताउँदै नेता गुरुङले नेपालको शिर ठाढो पार्ने नेता केपी ओली मात्रै भएको दाबी गरेका छन् ।

यस्तै, उनले तनहुँलाई आगामी निर्वाचनमा लाल किल्ला बनाएरै छाड्ने उद्घोष गर्दै दुई चार जना तल माथी हुँदैमा पार्टीलाई केही फरक नपर्ने दाबी गरेका छन् ।

भेलामा सहभागी नेताले एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न आवश्यक रहेको बताएका छन् ।