११ बैशाख २०८१, मंगलवार

पटकपटक झडपको स्थितिमा पुगेको संसद बैठक आज पनि बस्दै, अवरोध गर्ने एमालेको तयारी

Samsad aadhibesan 1

पटकपटक झडपको स्थितिमा पुगेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक आज पनि बस्दै छन् ।

यसअघि दुई दिनमा ५ पटक बसेको प्रतिनिधि सभाको बैठकमा आज पनि अवरोध हुने देखिएको छ ।बैठक दिउँसो १ बसेका लागि बोलाइएको छ ।

आजको बैठकमा अध्यादेशसम्बन्धी दर्जन प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यसैगरी प्रधानमन्त्रीले नै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्ने कार्यसूची छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ५ वटा अध्यादेश पेश गर्नुहुनेछ ।

त्यसैगरी कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने संभावित कार्यसूची छ।

आजको बैठक पनि अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेको तयारी छ । संसदमा खेल्ने रणनीतिका बारेमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

एमाले अवरोधका बीच यसअघि राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पेश भएको थियो भने प्रतिस्थापन विधेयकबाट बजेट पास गरिएको थियो ।

गत शुक्रबारको बैठकमा एमाले सांसदहरुले रोष्टममै उक्लिएर सभामुखमाथि आक्रमण गर्ने योजना रहेको बताएका थिए । तर उनीहरुको योजना मर्यादापादकले असफल बनाइदिएका थिए ।

माधवकुमार नेपालसहित आफूले कार्वाही गरेका १४ जना सांसदलाई कार्वाहीको सूचना नटाँसेर सभामुखले एमाले फूटाउन सहयोगी भएको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटा प्रति आक्रामक बनेको छ ।