१५ चैत्र २०८०, बिहीबार

सर्वोच्चको मुद्दा नटुंगिएसम्म संसद् चल्नु हुँदैन: पोखरेल

Krishnabhakta pokharel
फाइल फोटो

एमाले सांसद् कृष्णभक्त पोखरेलले अदातलतमा विचाराधीन मुद्दा नटुंगिएसम्म तत्कालका लागि संसद बैठक चल्न नहुने बताएका छन् ।

१४ जना सांसदमाथिको कारबाही र एकीकृत समाजवादी पार्टी दर्ता नै गैरकानुनी भनी दायर गरेको रिटको अन्तिम किनारा नलागेसम्म संसद् बैठक चल्न दिन नहुने उनले बताएका हुन् ।

बुधबार एमालेको संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै उनले सभामुख अग्नि सापकोटाले कानुनले नदिएको अधिकार प्रयोग गरेको दाबी गरे । ‘सभामुखलाई जुन अधिकार प्रयोग गर्नु भयो त्यो अधिकार कहाँबाट प्रयोग गर्नु भयो ?’ उनले भने ‘राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीले यो अधिकार दिएको छैन ।’

यसको एमालेले जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘पार्टीले कारबाही सिफारिस गरेको पत्रलाई जाँचबुझ गर्ने भनेर एमाले विभाजन गर्ने कुरामा सभामुख लाग्ने अधिकार कानुनले दिँदैन’, उनले भने । ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दा नटुंगिएसम्म कसरी संसद् चल्न सक्छ ?’ उनले भने ‘सत्तापक्षले जानीबुझीकन भिडन्त निम्याउन यसो गरेको हो’, पोखरेलले भने । उनले एमसीसीको बारेमा सरकारले पहिला आफ्नो धाराणा स्पष्ट पारेपछि मात्र एमाले बोल्न उपयुक्त हुने उनको भनाइ छ ।