७ बैशाख २०८१, शुक्रबार

विभाजनको मतियार किन बनेको भनेर एमालेले जवाफ माग्दा सभामुखले भने, अदालतले बोल्न बन्देज लगाएको छ

agni sapkota

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जवाफ मागेको छ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेवित्तिकै एमालेका सांसद उठेर अवरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । भट्टराईले प्रश्न गरे, ‘सभामुखज्यू, एमालेले कारबाही गरेका सांसदको पद जोगाउन र एमाले पार्टी फुटाउन किन मतियार बन्नुभयो । यसको जवाफ चाहन्छौं ।’

भट्टराईले दल विभाजनका लागि नामै नभएका ६ जना र कारबाही गरेका १० सांसदलाई समेटेर नयाँ पार्टी बनाएको भन्दै निर्वाचन आयोगमाथि पनि आक्रोश पोखे । नियम कानूनविपरीत प्रतिपक्षलाई तल पार्न, हेप्न खोज्छ भने एमाले चुप लागेर बस्दैन । जवाफ नपाएसम्म संसद चल्न दिँदैनौं ।

सभामुखले म जवाफ दिन तयार छु भन्दै बोले । उनले माधव नेपालसहित १४ सांसदको कारबाही सिफारिसबारे प्रचलित कानुनका आधारमा निर्णय लिएको बताए । थप जवाफ दिन अदालतले रोक्ने बताए । कारबाही निर्णयको विषय हाल अदालतमा विचाराधीन छ । अदालतमा भएको कुरा बोल्न बन्देज छ, सापकोटाले भने ।

सभामुखको यो जवाफमा एमालेले चित्त बुझाएनन् । सांसदहरु रोस्टमतिर अघि बढेर नाराबाजी गर्न थाले । सभामुखले ध्यानाकर्षण गराउँदा पनि नाराबाजी नरोकिएपछि १५ मिनेटका लागि बैठक स्थगित गरे ।