
संघीय संसद्को अधिवेशन आज बुधबार सुरु हुँदैछ। आज ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम छ। बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने, उपसभामुखको निर्वाचन एवं एमसिसीलाई लक्षित गरेर अधिवेशन बोलाइएको हो। तर प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने संकेत दिएको छ ।
एमालेले अघिल्लो अधिवेशन षड्यन्त्रमूलक ढंगले अन्त्य गरेको र अहिले पनि षड्यन्त्रमूलक तरिकाले नै बोलाइएको, सभामुख तटस्थ नभएको जस्ता विषय उठाएर बैठकमा अवरोध गर्ने संकेत गरेको छ। अघिल्लो अधिवेशन अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याई पार्टी फुटालेर निर्वाचन आयोगले दल रोज्न दिएको मिति सकिएको भोलिपल्ट अधिवेशन बोलाउनु षड्यन्त्र भएको एमालेको आरोप छ। निर्वाचन आयोगले विभाजित दलका जनप्रतिनिधिलाई दल रोज्न मंगलबारसम्मको समय दिएको थियो।
एमाले सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि आक्रोशित छ। तत्कालीन वरिष्ठ नेता माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर पत्र बुझाउँदा पनि सभामुखले सूचना जारी नगरेको एमाले आरोप छ। एमाले आक्रामक बनेका कारण सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाई संसद् बैठक सुरु गर्न लाग्नुभएको छ ।
त्यसैले सभामुखको राजीनामा माग्दै सदन अवरुद्ध गर्ने तयारी एमालेको रहेको स्रोतले बताएको छ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भने संसद्मा एमालेको भूमिका संसदीय दलको बैठकले तय गर्ने बताउनुभयो । बैठक बुधबार विहान ९ बजे बस्ने तय भएको उहाँले जानकारी दिनुभयो ।
दिनको ४ बजे बोलाइएको संसद्को पहिलो बैठकमा एउटा अध्यादेश टेबुल गर्ने र ११ अध्यादेश स्वीकृत गर्ने कार्यसूची राखिएको छ। बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएमा बुधबार नै प्रतिस्थापन विधेयक दर्ता गर्ने तयारी सरकारको छ।