६ चैत्र २०८०, मंगलवार

यतिबेला प्रतिपक्षमा पुगेका ओलीको नेपालमाथि निरन्तर गाली कहिले अन्त्य होला ?

kp oli madhav nepal

करिब दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्वमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला प्रतिपक्षमा पुग्नु भएको छ । आफ्नै पार्टीबाट निर्वाचित नेता र सांसदलहरुकै कारण सरकारबाट हट्न बाध्य भएका ओली नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति बढि रुष्ट देखिनु भएको छ ।

हरेक जसो सार्वजनिक कार्यक्रममा नेपालको खरो आलोचना गर्दै आएका ओलीले पोखरामा पनि नेपालमाथिको आक्रमणलाई निरन्तरता दिनुभयो ।

पाँच वर्षका लागि प्रधानमन्त्री निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन वर्षमै सरकारबाट हट्नु पर्यो । ओलीलाई सरकारबाट हटाउनमा एमालेकै तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको हात रह्यो ।

आफ्नो सरकार ढलेसँगै एमाले अध्यक्ष ओली नेपालप्रति सबैभन्दा बढि रुष्ट हुनुहुन्छ । हरेक जसो सार्वजनिक कार्यक्रममा उहाँले नेपाललाई निर्मम ढंगले प्रहार गर्नुहुन्छ । पोखरामा भएको कार्यक्रममा पनि ओली नेपालप्रति आक्रमक रुपमा प्रस्तुत हुनुभयो ।

अनि नेपालमाथि गम्भीर आरोप लगाउनुभयो । नेपाली कांग्रेस एमालेसँग लड्न डराइरहेको समयमा नेपाल एमाले सिध्याउन लागिपरेको उहाँले बताउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका नेपाललाई ओलीले प्युसोको संज्ञा दिनुभयो ।

नेपालविरुद्ध निर्मम रुपमा प्रस्तुत हुँदै आएका ओलीले नेपाल बेसरम व्यक्ति भएको तुच्छ टिप्पणी पनि गर्नुभयो । एमाले अध्यक्ष ओली त्यतिमै रोकिनु भएन । नेपालले पार्टी समाप्त पार्न प्रदेश(प्रदेशमा मन्त्रिपद पनि बेच्दै हिंडेको आरोप लगाउनुभयो ।

नेकपा माओवादी केन्द्र र एमाले एकीकरण भएर बनेको नेकपा कब्जा गर्न पुष्पकमल दाहाल प्रचण्ड र नेपाल मिलेको उहाँले आरोप लगाउनुभयो । नेकपा हुँदा प्रचण्ड र नेपालले पार्टीमा समस्या मात्रै सिर्जना गरेको ओलीले बताउनुभयो । नेपालले घरमा आगो लगाएर विरोधी शक्तिलाई हँसाउने काम गरेको ओलीको आरोप छ ।

पार्टी फूटाएर प्रतिक्रियावादीहरुलाई फाइदा पुर्‍याउने नेपालको नियत बुझेकाहरु अहिले आफूसँग रहेका अध्यक्ष ओलीको बुझाइ छ ।