१३ बैशाख २०८१, बिहीबार

एमालेबाट निर्वाचित ११ वडाध्यक्ष सहित ४४ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा

Sanakhat photo 768x576 1

जुम्ला । नेकपा (एमाले)बाट निर्वाचित सिञ्जा गाउँपालिका उपाध्यक्ष र ११ जना वडाध्यक्ष सहित जुम्लाका ४४ जना प्रतिनिधिले एमाले परित्याग गरी नेकपा ( एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् ।

तोकिएको समय सीमा भित्र जिल्ला निर्वाचन कार्यालय जुम्लामा पुगी जुम्लाका ४४ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जम्मा सङ्ख्या ९५ जना रहेकोमा ४४ जनाले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ल निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताउनुभयो ।

निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार २०७५ सालमा नेकपा एमालेबाट अध्यक्ष १ जना उपाध्यक्ष १ जना वडाध्यक्ष १७ जना, महिला सदस्य १८ जना, दलित सदस्य १३ जना र अन्य ४५ जना गरी ९५ जना निर्वाचित भएका थिए । जसमा एक जना उपाध्यक्ष र ११ जना वडाध्यक्ष सहित ४४ जनाले समाजवादी पक्षमा सनाखत गरेका छन् । भने, नेकपा एमाले नेता धिरेन्द्र गिरीका अनुसार ९५ जना मध्य ३ जनाको मृत्यु भएको र २ जनाले पार्टी परित्याग गरेका छन् । हामी सँगै ९१ जनाको लिस्ट रहेको बताउँदै कतिले सनाखत गरे भन्ने जानकारी नभएको बताउनुभयो ।

तर एमालेका जम्मा ९० जना मध्य ४४ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेपछि हाल नेकपा एमाले सँग ४६ जना प्रतिनिधि रहेका छन् । समाजवादी पार्टीमा सनाखत गर्नेमा सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्या बुढा रहनु भएको छ । भने, गुठिचौर १ का वडाध्यक्ष गणेश एैडी,गुठिचौर २ का वडाध्यक्ष पृथ्वी बहादुर बुढा, चन्दननाथ नगरपालिका ८ का वडाध्यक्ष नरजित दमाई,चन्दननाथ ६ का वडाध्यक्ष अज बहादुर रावल,चन्दननाथ ७ का वडाध्यक्ष नरविर रावलले समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

त्यस्तै, कनकासुन्दरी गाउँपालिकाका वडा नं. ७ का वडाध्यक्ष धनजीत रोकाया, सिञ्जा गाउँपालिकाका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर बुढा, सिञ्जा ५ का वडाध्यक्ष मुन बहादुर रावत, हिमा गाउँपालिकाका वडा नंं २ का वडाध्यक्ष नैनसिंह बुढा, हिमा ३ का वडाध्यक्ष सर्पजीत भण्डारी, र पातारासी गाउँपालिकाका वडा नंं ७ का वडाध्यक्ष लाल बहादुर बुढाले गरी ११ जना वडाध्यक्षले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको एकीकृत समाजवादी पार्टीका नेता आदीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

सनाखतपछि बोल्दै गुठिचौर गाउँपालिका १ का वडाध्यक्ष गणेश एैडीले पार्टीको विधि विधान र पद्धति विपरीत काम गर्ने केपी ओलीको पक्षमा लागेर भविष्य नरहेकाले समाजवादी रोजेको बताउनुभयो । उहाँले भन्नुभयो,“दुई पटक संसद् विघटन देखि पार्टीभित्र दम्भ र अंहकारले चरम सीमा नाघेपछि अन्नत पार्टी फुट्यो । पार्टी भित्र मनपरी गर्ने,राज चलाउन खोज्नेको पछि गएर भविष्य देखिन । त्यसैले एकीकृत समाजवादीमा सनाखत गरे ।”