
बाग्मती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।
एकीकृत समाजवादीमा रहने गरी सनाखत गर्नेमा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली नेपाल र राजेन्द्रमान श्रेष्ठ रहनुभएको छ ।
निर्वाचन आयोगले नयाँ दलका पक्षमा सनाखतका लागि दिएको समय सकिनु अघिसम्म बाग्मती प्रदेशमा ३२८ जना स्थानीय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
बागमती प्रदेशको १३ जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, वडा अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरु गरी ३२८ जनाले नेकपा एमाले त्यागेर नेकपा समाजवादीमा सनाखत गरेका हुन् ।
चितवनका ३६ जना, मकवानपुरका ३९ जना, धादिङका ८७ जना, नुवाकोटका १० जना, सिन्धुपाल्चोकका २ जना, काभ्रेका ५६ जना, दोलखाका ७ जना, रामेछापका ५ जना र सिन्धुलीका २ जनाले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।
रसुवामा भने कसैले पनि नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत नगरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।
निर्वाचन आयोगले गत भदौ १५ गतेदेखि २२ गतेसम्म स्थनीय तहका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।
एकीकृत समाजवादीको स्थान कुन प्रदेशमा कस्तो ?
एकीकृत समाजवादी प्रदेश १ मा १० सांसदसहित चौथो दल बनेको छ ।
प्रदेश २ मा पनि १३ सांसदसहित चौथो दलकै हैसियतमा एकीकृत समाजवादी रहेको छ । वाग्मतीमा १३ सांसदसहित चौथो दलको रुपमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिममा भने सबैभन्दा ठूलो दल बनेको छ ।
प्रदेशका १४ सांसदले एकीकृत समाजवादी रोजेका छन् । कर्णालीमा तीन सांसद र लुम्बिनीमा १ सांसदले रोजेको एकीकृत समाजवादीको अवस्था गण्डकी प्रदेशमा भने शून्य देखिएको छ । माधवकुमार नेपालको पक्षका एक मात्र सांसद इन्द्रलाल सापकोटा पनि एमालेमा रहे पछि गण्डकीमा शून्य अवस्था देखिएको हो ।