१६ चैत्र २०८०, शुक्रबार

सभामुखविरुद्धको रिटमा अन्तरिम आदेश भएन, २८ गते छलफलका लागि दुवै पक्षलाई बोलाइयो

Supreme Court 43KnAVGEAY

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि भदौ २८ गते बोलाएको छ ।

नेकपा एमालेले १४ सांसदलाई दलबाट निष्कासन गर्ने निर्णयलाई सभामुखले मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यस विरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिई छलफलका लागि बोलाएको हो ।

रिटमा निवेदक अध्यक्ष ओलीले १४ सांसदलाई दलबाट निष्कासन गर्ने पार्टीको निर्णयमा सभामुखले कानुन बमोजिम प्रक्रिया अवलम्बन नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्नुभएको थियो ।

सो रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले निवेदनको माग बमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न भदौ २८ गते दुवै पक्षलाई बोलाउन आदेश दिएको हो ।

एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रिया नमिलेको र कानुन विपरीत रहेको भनी निर्वाचन आयोगविरुद्ध अध्यक्ष ओलीले दायर गरेको रिटमा भने कारण देखाऊ आदेश जारी भएको छ ।

इजलासले बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै लिखित जवाफ पेस भएको तेस्रो दिनका लागि पेसी तोक्न भनेको छ ।