१२ बैशाख २०८१, बुधबार

आगामी असोज १ गतेदेखि उपत्यकामा विद्यालय खोल्ने निर्णय

student
फाइल फोटो

काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच आज भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको÷नभएको भनेर नियमित नियमन गर्नेपर्ने उनको भनाई छ ।

केही नगरपालिकाहरूले भने यसअघि नै विद्यालय खोल्न थालिसकेको तछ । अब सबै स्थानीय तहमा एकरूपता ढंगबाट विद्यालय सञ्चालन गर्ने गरी आजको बैठकले निर्णय गरिएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन् । विद्यालय सञ्चालन गर्दा स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गर्नुपर्ने भनिएपछि सोबारे अन्तिम टुंगो गर्न आज बैठक बसेको हो ।

विज्ञहरूले भने अहिले विद्यालय खोल्ने बेला नभएको बताउँदै आएका छन् । उनीहरुले कम्तिमा दसैं/तिहारपछि मात्र सोबारे निर्णय लिनुपर्ने सुझाएका थिए । तर डिसिसिएमसीले विद्यालय खोल्न सक्ने गरी निर्णय गरिदिएको छ ।

सिडिओ पराजुलीका अनुसार विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले त्यहाँका अभिभावकहरूसँग पनि छलफल गर्नुपर्ने हुन्छ । उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्न सकिने भए पनि पूर्णरूपमा विद्यालय सञ्चालनमा आउन तिहारसम्म लाग्ने सिडिओ पराजुलीको भनाई छ ।