१३ बैशाख २०८१, बिहीबार

अफगानिस्तानको पञ्जशिरमा रेजिस्टन्स फोर्स र तालिबानबीच भीषण युद्ध

saleha

अफगानिस्तानको पञ्जशिर राज्यमा रेजिस्टन्स फोर्स र तालिबानका लडाकुबीच भीषण युद्ध जारी छ।

अहिलेसम्म कब्जा गर्न नसकेको एक मात्र राज्य पञ्जशिर नियन्त्रणमा लिने प्रयास गरिरहेको तालिबान त्यहाँ बलियो हुँदै गइरहेको बताइएको छ । त्यहाँ तालिबान लडाकुले आफ्ना विरोधी अहमद मसुद समूहका लडाकुलाई जित्दै गएका हुन् ।

तालिबानीले त्यहाँ विरोधी समूहका धेरै जना शीर्ष कमाण्डरलाई मारेको बताएको छ । मसुद समूह कमजोर हुँदै गएको दाबीकाबीच अहमद मसुदले तालिबानसँग युद्ध अन्त्यको प्रस्ताव राखेका छन् । तर उनको प्रस्ताव तालिबानले अस्विकार गरेको छ ।
पञ्जशिरका विरोधी लडाकुले युद्ध शुरु गरेकाले त्यसको बदला लिने तालिबानको भनाइ छ । पञ्जशिरमै बसेर तालिबानविरुद्ध लडाइँ गरिरहेका अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अब्दुल्लाह सालेहविरुद्ध पनि तालिबानले हवाई आक्रमण गरेका छन् ।

उपराष्ट्रपति सालेह बसेको घरमा हेलिकप्टरमार्फत हमला भएपनि उनी सुरक्षित स्थानमा भाग्न सफल भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

गएको अगष्ट १५ तारिखमा तालिबाले राजधानी काबुल कब्जा गरेकै दिन राष्ट्रपति असरफ घानी देश छाडेर भागे पनि उपराष्ट्रपति सालेह भने पञ्जशिरमा गएर बसेका थिए । उनले त्यहाँबाट अन्तिम समयसम्म तालिबानविरुद्ध लडिरहने प्रतिबद्धता जनाएका थिए ।

तालिबानले पञ्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको दाबी गरेका छन् । त्यस्तै उनीहरुले पञ्जशिरका गभर्नरको कार्यालय पनि नियन्त्रणमा लिएको बताएका छन् ।