१३ बैशाख २०८१, बिहीबार

अब जीपीएस प्रणाली सार्वजनिक यातायातमा

buses in nepal

चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा जोडिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन जीपीएस जडान प्रक्रिया अघि बढाएको हाे ।

जीपीएसमार्फत गुडिरहेका गाडीको अवस्थाका बारेमा ट्राफिक प्रहरीलाई अनलाइनबाट जानकारी प्राप्त हुनेछ । सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग हुने विभागको दाबी छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सार्वजनिक यातायातको नियमन र अनुगमन प्रभावकारी भई ट्राफिक व्यवस्थापनमा सहज हुने भएकाले दुर्घटनामा पनि कमी आउने बताउनुभयो ।

विश्व बैङ्कको सहयोगमा नमुना परियोजनाका रूपमा जीपीएस जडान गरिँदैछ । सार्वजनिक सवारीमा जीपीएस जडानका लागि टेन्डरको मूल्याङ्कन गरिरहेकाे र मूल्याङ्कन सकिएपछि सम्झौता भई यही आर्थिक वर्षमा जीपीएस जडान कार्य सुरु हुने महानिर्देशक घिमिरेले बताउनु भयाे ।

विभागका अनुसार आगामी दुई महिनामा सामग्री वितरण भइसक्ने छ । सुरुमा एक सयवटा सार्वजनिक सवारीमा जीपीएस जडान गर्नका लागि यातायात व्यवसायीसँग छलफल भएको छ । सार्वजनिक यातायातमा जीपीएस जडान गरिसकेपछि सरकारी गाडीहरूमा गरिने विभागको योजना छ ।