१५ बैशाख २०८१, शनिबार

आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता मृत्यु प्रकरण: साढे दुई महिनासम्म पनि क्लू फेला पार्न सकेन

asmita death

डडेल्धुराकाे परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता देवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसकेको छ। तर धामीको हत्यारा भने अझै पत्ता लागेको छैन ।

प्रहरीले सूक्ष्म अनुसन्धान भन्दै जिल्ला र प्रदेशको टोली खटाएर अनुसन्धानसमेत गरेको थियो । डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल आफैं घटनास्थलमा खटिए । तर पनि प्रहरीले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सकेकाे छैन।

अस्मिताको हत्या भएको भन्दै आन्दोलन भयो । आन्दोलन चर्किएर ठूलो क्षति हुने डरले परशुराम नगरपालिकाले संघर्ष समितिसँग ६ बुँदे सम्झौतासमेत गर्यो। जसमा पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र अस्मिताका श्रीमान् अमर धामीलाई जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी दिनेलगायतका छन्। तर त्यो सम्झौता अझै पनि कार्यान्वयन भने भएको छैन ।

नगरपालिकाले सम्झौता कार्यान्वयन नगरेको र प्रहरीले घटनाबारे सत्यतथ्य बाहिर नल्याएको भन्दै दुई साता अगाडि संघर्ष समितिले आन्दोलनलाई तीव्रता दियो। र जिल्ला सदरमुकाम केन्द्रित गर्ने योजना बनायो। तर कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरण दोहोरिने डरले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २० भदौभित्र घटनाबारे जानकारी दिने भन्दै आन्दोलन नगर्न आग्रह गर्यो। त्यसपछि संघर्ष समितिले आन्दोलन मत्थर बनायो ।

प्रशासनले दिएको समयसीमा सकिन अब दुई दिन मात्रै बाँकी छ। विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको अस्मिताको भिसेरा रिपोर्टले घटनाबारे पूरै जानकारी नआउने प्रहरी स्रोत बताउँछ। अस्मिता मृत्यु प्रकरण डडेल्धुराका प्रहरी उपरीक्षक राजेन्द्र चन्दले हेरिरहनु भएकाे छ। अस्मिताको हत्या नै भए पनि उनको शवमा किरा परेको र भिसेरा परीक्षणबाट हत्या बारे एकिन जानकारी नपाइने उहाँको भनाइ छ।

यस्तो छ घटना विवरण

अस्मिता र अमरको २०७२ मा प्रेम विवाह भयो। खेतीकिसानीबाट उनीहरूको जीवन जेनतेन चलिरहेको थियो। अस्मिता घर सम्हालेर बसिरहेनु भएकाे थियाे, अमर भने वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नु हुन्थ्याे । ०७४ मा अस्मिताले परशुराम नगरपालिका–८ कै जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा काम गर्न थालेपछि उहाँहरूको जीवन फेरिँदै थियो। घर खर्च चलाउन सहज हुँदै गयो । विदेशमा कोरोनाको संक्रमण फैलिएपछि अमर स्वदेश फर्किएर गत वर्षदेखि घरमै हुनुहुन्थ्याे।

अस्मिता कार्यालय जानु हुन्थ्याे। अमर घरमा दुई छोरीको रेखदेख गर्नुहुन्थ्याे। कोरोना महामारीको समयमा पनि अस्मिताले आफ्नो दायित्व पूरा गरिरहनु भएकाे थियाे। अरू समयभन्दा कोरोना संक्रमण फैलिएपछि अस्मिताको जिम्मेवारी थपिएको थियो। कहिले कोरोना परीक्षण त कहिले कोरोना खोपका सामग्री ल्याउने लैजाने गर्दा उहाँलाई घर जान पनि समय हुँदैनथ्यो । कहिलेकाहीँ घर जाने फुर्सद नभएपछि उहाँ आफन्तकोमा बस्नु हुन्थ्याे। र, दोस्रो दिन घर पुग्नुहुन्थ्याे।

asmita dhami

मामाको घर निर्माण भइरहेकाले त्यसअघि अमर दुई दिन घर जानु भएकाे थिएन। गत १ असारमा उहाँ घर जानु भयाे। अवस्था सबै ठिक थियो। अस्मिताले त्यसदिन राति कोरोनाको खोप पुर्याउन जानुपर्ने अवस्थाबारे श्रीमान् अमरलाई जानकारी गराउनु भएन।

२ असारमा अमर श्रीमती अस्मिता कार्यालय जानुअघि घरबाट निस्कनु भयाे। छोरीलाई आमा–बुवासँग छाडेर अस्मिता पनि कार्यालय जानु भयाे। अमर साँझ घर आउनु भयाे, तर अस्मिता भने आइपुग्नु भएकाे थिएन। अमरले फोन गर्दा उहाँको मोबाइल ‘स्विच अफ’ भन्यो।

त्यसदिन उहाँले आज कतै बसिन् होला भन्ने ठान्नु भयाे। अमरलाई अस्मिताले दोस्रो दिन फोन गर्लिन् भन्ने आश थियो। तर न त उहाँ घर आउनु भयाे, न त उहाँको फोन नै आयो। त्यसपछि अमरले कार्यालय प्रमुखलाई फोन गर्नुभयाे। कार्यालय प्रमुखले भन्नुभयाे, ‘खोप लिन गएकी छन्। आज आफन्तकोमा बस्छु, भोलिमात्रै कार्यालय पुग्छु भनेकी थिइन्, आउँदै होलिन्।’

कार्यालय प्रमुखको कुरा सुनेपछि उहाँलाई पनि श्रीमती आउँदै होलिन् भन्ने लाग्यो। र, उहाँ नियमित काममै लाग्नु भयाे। तर भोलिपल्ट पनि अस्मिताको फोन लागेन। न त उहाँ घर आउनु भयाे। त्यसपछि भने अमरलाई भय र चिन्ताले सताउन थाल्यो। छोरीहरू पनि आमा खोज्न थाले ।

छोरीलाई फकाउन उहाँले बिस्कुट र चाउचाउ किनिदिनु भयाे। राति ८ बजेसम्म पनि अस्मिता नफर्केपछि उहाँले फेरि कार्यालय प्रमुखलाई फोन गर्नु भयाे, ‘म बुझेर खबर गर्छु’ उताबाट जवाफ आयो। अमरले आफन्त सबैलाई फोन गरेर सोध्नु भयाे। तर, कसैले पनि नदेखेको बताउनु भयाे।

छोरीहरूलाई फकाउँदै सुताउनु भयाे । तर उहाँ आफू भने रातभरि सुत्न सक्नु भएन। एकैछिनमा बुझेर खबर गर्छु भन्नुभएका कार्यालय प्रमुखले बिहानसम्म फोन गर्नु भएन। अस्मिता आउँछिन् भनेर पर्खनु भएका उहाँकाे आशा मर्दै गयो। फेरि उहाँले बिहान जमरानी स्वास्थ्य केन्द्रमा फोन गर्नुभयाे। खोप पु-याउनुपर्ने ठाउँमा पनि नपुगेको कार्यालयबाट थाहा पाउनु भयाे। अमरले अस्मिता हराएको कुरा जोगबुढा प्रहरीलाई जानकारी दिनु भयाे।

आफन्तहरूले खोजीकार्य सुरु गर्नु भयाे। ४ असारमा आफन्त र प्रहरीले खोजी तीव्र पारे। तर कतै भेटेनन्। निराश हुँदै फेरि घर फर्किनु भएका अमरलाई छोरीहरूलाई भुलाउन हम्मे–हम्मे भयो। त्यो रात पनि भोक र अनिद्रामै बिताउनु भएका उहाँ बिहानबाट फेरि अस्मिताको खोजीमा लाग्नु भयाे। प्रहरी र स्थानीयको संयुक्त टोलीले ५ असारमा हट्टवानी सामुदायिक वनको एउटा खोल्सोमा अस्मिताको शव फेला पा-यो।

त्यसको दुई दिनपछि शवको पोस्टमार्टम गरियो, तर हत्या र बलात्कारबारे एकिन जानकारी नपाएपछि भिसेरा परीक्षणका लागि काठमाडौं पठाइयो। घटनास्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको थियो। त्यसबाट कुनै ठोस प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ। प्रहरी उहाँको भिसेरा रिपोर्ट कुरिरहेको छ। जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ।

शव फेला परेको दिनदेखि निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। तर प्रहरीसँग ठोस परिणाम हात पर्न सकेको छैन । अनुसन्धानका क्रममा हात परेका प्रमाणले हत्यारा सार्वजनिक गर्न पर्याप्त नभएको प्रहरीको भनाइ छ ।